सूचनाको शक्ति - The Power Of Information

        

सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा

काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका प्रवक्ता दीपक दाहालका अनुसार न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

शुक्रबार सन्दीपको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश घिमिरेको इजलासले सन्दीपलाई केन्द्रीय कारागार जगन्नाथदेवल पठाएको जानकारी प्रवक्ता दाहालले दिए । सन्दीपमाथि भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर एक १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगसहित उजुरी परेको थियो ।

एक १७ वर्षीया पीडित किशोरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले २४ दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । अनुसन्धानपछि प्रहरीले कात्तिक १४ गते सोमबार काठमाडौं अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार १५:१५