सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपको थुनछेक बहस आज पनि

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज शुक्रबार पनि थुनछेक बहस हुने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार पनि थुनछेक बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो ।

प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका थिए । थुनछेक बहसमा अझै केही अधिवक्ताहरु बाँकी रहेको काठमाडौं जिल्ला अदालत स्रोतले बताएको छ ।

बहसका क्रममा सन्दीप तर्फका कानुन व्यवसायीले पीडित किशोरी नावालिग नभएको र बलात्कार नभएको जिकिर गरेका छन् । बलात्कार आरोपमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ ।

सरकारी वकिल कार्यालय काठमाडौंले लामिछानेविरूद्ध ६ वटा मुख्य प्रमाण पेस गरेको छ । जसमध्ये सिसिटिभी फुटेजलाई प्रमुख प्रमाण मानेको छ । प्रहरीले काठमाडौंमा भदौ ५ गते राति बसेको होटलबाट १२ वटा भिडिओ संकलन गरेको छ ।

कार्यालयले त्यसको पेनड्राइभ अदालतमा पेस गरेको छ । दोस्रो प्रमाणको रूपमा अदालतले घटनास्थल मानिएको उक्त होटलबाट संकलन गरेको सन्दीपको गेष्ट रेजिस्ट्रर कार्ड पनि बुझाएको छ ।

प्रहरीले जाहेरीमा पेस भएको एउटा तस्बिरलाई पनि प्रमाणको रूपमा पेस गरेको छ । काठमाडौंको होटलमा बलात्कार हुनुअघि उनीहरू नगरकोटको एक रिसोर्टमा पुगेका थिए ।

उक्त रिसोर्टमा खाजा खाएर तिरेको सन्दीपको नामको बिलको भरपाइ पनि प्रमाणको रूपमा पेस गरिएको छ । पीडित युवती र सन्दीप दुवै जनाको स्वास्थ्य परीक्षणको रिपोर्ट दुई वटा छुट्टाछुट्टै प्रमाणको रूपमा पेस गरिएको छ ।

सन्दीपविरुद्ध १७ वर्षीया किशोरीले जबरजस्ती करणी गरेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेको थियो । २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते उनलाई जिल्ला अदालतमा जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

सन्दीपमाथि गत भदौ ५ मा काठमाडौंको एक होटेलमा लगेर १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोग छ । पीडित किशोरीले आफूमाथि बलात्कार भएको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

स्वदेश फर्किने क्रममा उनलाई प्रहरीले असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७९, शुक्रबार ०८:४२