सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री कप क्रिकेटमा पुलिस क्लब र मधेस प्रदेश विजयी

 प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटमा आज बिहीवार भएकाे खेलमा नेपाल पुलिस क्बल र मधेस प्रदेश विजयी भएका छन् ।

लगातार तेस्रो जित निकाल्ने क्रममा पुलिसले लुम्बिनी प्रदेशलाई ६ विकेटले हरायो । कीर्तिपुर मैदानमा लुम्बिनीले दिएको एक सय ८९ रनको लक्ष्य पुलिसले ३७ ओभर १ बलमा मात्र चार विकेट गुमाएर भेटायो ।

पुलिसका लागि दीपेन्द्रसिंह ऐरीले नटआउट ४३ रन बनाए । यस्तै सुनिल धमलाले ३६, आरिफ शेखले ३५ र कुशल भुर्तेलले ३२ रन बनाए । लुम्बिनीका अनिल खरेलले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीका लागि देव खनालले ७४ रन बनाए । बलिङतर्फ पुलिसका दीपेन्द्रसिंह ऐरीले चार तथा करण केसी र सागर ढकालले दुई/दुई विकेट लिए ।

पुलिस लगातार तीन जितसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । लुम्बिनी तेस्रो स्थानमा छ ।

आजै मूलपानी मैदानमा भएको खेलमा मधेस प्रदेशले प्रदेश १ लाई ७२ रनले हरायो । मधेसले दिएको दुई सय १५ रनको लक्ष्य पछ्याएको प्रदेश १ एक सय ४२ रन बनाउँदा अलआउट भयो ।

उसका लागि लभ कामतले २९, विवेक आनन्द मेहेताले २५ र फिरदोस अन्सारीले २२ रन बनाए । बलिङतर्फ मधेसका मोहम्मद आदिल आलम, रूपेश सिंह, प्रदीप पासवान र विशाल शुस्लिङले दुई/दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मधेसका लागि अनिल साहले ६१, विवेक यादवले ३२ र रोहन विकले २८ रन बनाए । बलिङतर्फ प्रदेश १ का लागि फिर्दाेश अन्सारीले पाँच विकेट लिए ।

समूह ‘बी’ मा मधेस दोस्रो र प्रदेश १ चौथो स्थानमा छन् ।

गएकाे आइतवारदेखि सुरु भएको प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरीएको छ । समूह ‘ए’ मा एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘बी’ मा पुलिस क्लब, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, मधेस प्रदेश र प्रदेश १ रहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ । यस्तै उपविजेताले पाँच लाख र सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार रुपैयाँ पाउने छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १८:१०