सूचनाको शक्ति - The Power Of Information

        

रूपन्देहीमा दुई नाबालिकालाई १३ जनाले गरे सामूहिक बलात्कार

रुपन्देही प्रहरीले दुई नाबालिग किशोरीमाथि सामूहिक बलात्कार गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।

बुधवार राति रुपन्देहीको कञ्चन गाउँपालिका २ गोफ्लापुरमा सांस्कृतिक कार्यक्रम हेरी घर फर्कदै गरेका १५ र १६ वर्षीया दुई किशोरीलाई अपहरण गरी १३ जनाको समूहले जबरजस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले जानकारी दिए ।

पक्राउ पर्नेमा सैनामैना नगरपालिका ११ वनकट्टीका १९ वर्षीय पदम कार्की, सोही स्थानका १६ वर्षीय परिवर्तित नाम विष्णु, गैंडहवा ८ का १८ वर्षीय राहुल परियार, १७ वर्षीय परिवर्तित पिएम रहेका छन् ।

यसैगरी सैनामैना ११ का १८ वर्षीय बबी पाण्डे, १५ वर्षीय परिवर्तित नाम साजन, गैंडहवा ८ का २६ वर्षीय राम बहादुर वि.क., १६ वर्षिय परिवर्तित प्रकाश र १४ वर्षीय एक बालक रहेका छन् ।

अपहरण र सामूहिक जबरजस्ती करणीमा १३ जना व्यक्तिहरू संलग्न रहेकोमा ९ जना पक्राउ परेका र अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । दाजुसँगै घर फर्कदै गरेकी किशोरीहरूलाई अपहरण गर्नुअघि मोटरसाइकलमा आएका युवाहरूको टोलीले दाजुलाई आक्रमण गरेका थिए ।

गैँडहवा ८ का रामबहादुर विक मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट ३ वटा मोटरसाइकल र २ वटा मोबाइल बरामद गरिएको छ ।

पक्राउ परेकाहरूलाई अपहरण र करणीसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १७:५४