सूचनाको शक्ति - The Power Of Information

        

४ वटा प्रदेशमा मतपत्र ढुवानी सकियो

 मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि चार वटा प्रदेशको सम्पूर्ण मतपत्र ढुवानी सम्पन्न भएको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि मतपत्र ढुवानी सम्पन्न भएको हो ।

आज बिहीवार मनाङ र मुस्ताङ जिल्लाका लागि आवश्यक मतपत्र हेलिकप्टरमार्फत ढुवानी भएसँगै चार वटा प्रदेशको मतपत्र ढुवानी सम्पन्न भएको निर्वाचन आयाेगले जनाएकाे छ ।

भोलिदेखि प्रदेश १ मा मतपत्र ढुवानी सुरु हुने छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र भने यसअघि नै ढुवानी सम्पन्न भइसकेको छ ।

यस पटक एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० जना मतदाताका लागि झन्डै आठ करोड मतपत्र आवश्यक पर्ने छ । जसमध्ये अब २५ लाख ९४ हजार थान मतपत्र छपाइ हुन बाँकी छ ।

भोलिसम्म सबै मतपत्र छपाइ सम्पन्न हुने र कात्तिक २५ गतेसम्ममा हरेक निर्वाचन अधिकृतको कार्यलयमा मतपत्र पुग्ने आयोगले जनाएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १७:४१