सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा जेलबाट भोट हाल्दै दुई बन्दी

आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा जिल्ला कारागार बाँकेबाट दुई बन्दीले अस्थायी मतदाताका रुपमा भोट हाल्न पाउने भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नं १६ का ४८ वर्षीय मोहम्मद तैयदअलि जोलाहाले प्रतिनिधिसभाको समानुपतिकतर्फ मात्रै मताधिकारको प्रयोग गर्ने जिल्ला कारागारका प्रमुख अर्जुनजङ्ग शाहले जानकारी दिए ।

उनले निर्वाचन आयोगले माग गरे बमोजिम कारागारबाट ७२६ बन्दीको नामावली पठाएको र नामावली पठाएकामध्ये १२ जनाको नामावलीमा नाम देखिए पनि अन्तिम नामावलीमा दुई जनाको मात्रै आएको जानकारी दिए ।

श्रेष्ठ करिब सात महिनादेखि पूर्पक्षका लागि कारागार चलान भएका थिए । उनको लागुऔषध कारोबारको मुद्दा रहेको छ । उनको मुद्दा अहिलेसम्म अदालतबाट फैसला भएको छैन । मोहम्मद करिब एक वर्षदेखि कारागारमा रहेका छन् ।

लागुऔषध सम्बन्धी मुद्दामा कारागार चलान भएका उनले कारागारमा १० वर्ष बिताउने जेलर शाहले बताए । अन्तिम नामावलीमा दुई जना बन्दीको मात्रै नाम भेटिएकाले उनीहरुले अस्थायी मतदाताका रुपमा मताधिकारको प्रयोग गर्न पाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारीसहित एक हजार ६३१ जनाले अस्थायी मतदाताका रुपमा प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्ने बताइन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १५:४५