टेस्लाका सिइओ एलन मस्कले कम्पनी सम्हालेको केही समयपछि नै एक कर्मचारीले ट्विटर अफिसमा सुत्दै गरेकी एक महिलाको तस्बिर ट्विट गरेका छन् ।
एलन मस्कको निर्धारित समयसीमा काम पूरा गर्न ओभरटाइम काम गरेपछि अफिसमा सुत्दै गरेकी आफ्नी बोसको तस्बिर ट्विट गरेका हुन् । ५१ वर्षीय मस्कले ४४ अर्ब डलरमा सोसल मिडिया कम्पनीको जिम्मेवारी लिएको एक सातापछि नै यो तस्विर बाहिर आएको हो ।
ट्विटर स्पेसेसका प्रोडक्ट म्यानेजर इभान जोन्सले अफिसको भुइँमा सुतिरहेकी आफ्नी बोसको तस्बिर ट्वीट गरेका हुन् । तस्बिरमा ट्विटरमा उत्पादन व्यवस्थापनका निर्देशक एस्थर क्रफोर्डलाई स्लिपिङ झोलामा सुतिरहेको देखिन्छ ।
इभान जोन्सले तस्बिर सेयर गर्दै ‘जब तपाईलाई आफ्नो मालिकबाट केहि चाहिन्छ’ लेखेका छन् । क्रफोर्डले फोटो रिट्वीट गर्दै लेखे, ‘जब तपाईंको टोली चौबीसै घण्टा काम गरिरहेको हुन्छ, कहिलेकाहीँ तपाईं जहाँ काम गर्नुहुन्छ त्यही सुत्नुपर्छ ।’ यो तस्बिर कहिले र कहाँ खिचिएको हो भन्ने खुलेको छैन ।
तर जोन्सको ट्विटर बायोले उनी न्यूयोर्कमा रहेको बताउँछ । बिजनेस इनसाइडरका अनुसार, मस्कले प्रमुख परियोजनामा कडा समयसीमा तोकेका कारण ट्विटरका कर्मचारी लामो समयसम्म काम गरिरहेका छन् । ट्विटरको नयाँ प्रमाणीकरण प्रणालीमा काम गर्ने टोलीलाई समयसीमामा काम पूरा गर्न २४ सै घण्टा काम गर्नुपर्ने हुन सक्ने बताइएको छ ।
प्रबन्धकहरूलाई मस्कले दिएको समयसीमामा काम पूरा गर्न हप्ताको सात दिन १२ घण्टाको सिफ्टमा काम गर्न निर्देशन दिइएको छ । प्रतिवेदनमा ओभरटाइम तलब, समयावधि वा जागिरको सुरक्षाका विषयमा कुनै छलफल नगरी यी निर्देशन दिइएको उल्लेख छ ।
सत्यपाटी संवाददाता । वासिङटन डिसी