सूचनाको शक्ति - The Power Of Information

        

‘टुर प्याकेज’ ल्याउँदै पर्यटन व्यवसायी

पर्यटन प्रवर्द्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् ।

‘टुर प्याकेज’ सञ्चालनमा ल्याउनकै लागि नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोेपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्रोडक्ट डेभलपमेन्ट र टिकेटिङ’ तालिम आयोजना गरिएको छ ।

नाट्टाका केन्द्रीय सचिव युविका भण्डारीले पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति तयार गर्न तालिम फलदायी हुने उल्लेख गर्दै कोभिड–१९ पछि पर्यटनको क्षेत्रमा दक्ष जनशक्ति पलायनको अवस्थाले अभाव बढेको बताइन् ।

उनले त्यही अभाव न्यूनीकरणका लागि नेपाल पर्यटन बोर्डको योजनामा मुलुकका विभिन्न ठाउँमा यस्ता तालिम चलाउन थालिएको जानकारी दिइन् । नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले पर्यटननै मुलुकको अर्थतन्त्रका लागि बलियो र स्थायी आधार बन्न सक्ने धारणा व्यक्त गरे ।

उनले देशको अर्थतन्त्र सवलीकरणमा निजी क्षेत्रको भूमिका रहेको उल्लेख गर्दै तीन प्रदेशका पर्यटन व्यवसायीले तालिमपछि बनाउने टुर प्याकेजमा एकरुपता आउने बताए । नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले पश्चिम नेपालमै पहिलो पटक आयोजना गरिएको तालिमले व्यवसायीलाई भ्रमण प्याकेज बनाउन गन्तव्य पहिचानदेखि विश्वभरका गन्तव्यमा जाने पर्यटकका लागि आवश्यक टिकट व्यवस्थापन गर्नसक्ने उल्लेख गरे ।

सो कार्यक्रममा होटल व्यवसायी महासङ्घका लुम्बिनी प्रदेशका अध्यक्ष भाष्कर काफ्ले, नाट्टा बाँकेका उपाध्यक्ष डिल्लीराम रेग्मी, सुदूरपश्चिम अध्यक्ष पवनविक्रम सिंह लगायतले पर्यटन क्षेत्रको विकास अपरिहार्य भएको बताए । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३० जना टुर अपरेटर सहभागी तालिममा नाट्टाका केन्द्रीय सचिव युविका भण्डारी र सुनिल दाहालले सहजीकरण गरिरहेका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७९, बिहीबार १२:३५