सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा प्रखरको फड्को

विशेषज्ञ सेवाको तयारीमा ‘खजुरा क्यान्सर अस्पताल’

अस्पतालमा युरोलोजिस्ट भए पनि पिसाव सम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता छ ।

बाँकेको खजुरास्थित सुशील कोइराला क्यान्सर अस्पतालले विशेषज्ञ सेवा सुरु गर्ने तयारी गरेको छ । क्यान्सर रोगको सम्पूर्ण उपचार गर्न सक्ने अवस्था बनाउन आवश्यक थप जनशक्ति र उपकरणको व्यवस्था गरी विशेषज्ञ सेवा दिने गरी तयारी भइरहेको अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले बताए ।

उनका अनुसार सुशील कोइराला क्यान्सर अस्पतालमा क्यान्सरको सम्पूर्ण विशेषज्ञ सेवा प्रदान गर्न स्वास्थ्य मन्त्रालयसँग आवश्यक छलफल भइरहेको छ । अस्पतालमा युरोलोजिस्ट भए पनि पिसाव सम्बन्धी सम्पूर्ण उपचार र शल्यक्रिया हुन नसक्दा बिरामी अन्य ठाउँमा उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ ।

अस्पताल विकास समिति अध्यक्ष मल्लले क्यान्सर रोगसम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा विस्तार गर्ने कार्यलाई आफ्नो प्रमुख जिम्मेवारीका रुपमा लिएर नयाँ योजनासहित काम गरिरहेको बताए । अस्पतालमा आवश्यक पर्ने भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थप्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको उनको भनाइ छ ।

खजुरामा विशेषज्ञ सेवा नपाएपछि यस क्षेत्रका बिरामी भारतको लखनउ, भरतपुर क्यान्सर अस्पताल चितवन र काठमाडौँसम्म पुग्ने गरेका छन् । बाँकेको खजुरामा रहेको क्यान्सर अस्पतालले कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बिरामीलाई उपचारको लागि अन्यत्र जान नपर्ने गरी सेवा विस्तार गरिनुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

सुशील कोइराला क्यान्सर अस्पताल खजुरामा हाल वार्षिक रुपमा करिब एक हजार ३०० बिरामी उपचार गराउन आउने गरेका छन् । क्यान्सर अस्पतालले गुणस्तरीय उपचार सेवा दिन सुरु गरेपछि उपचारका लागि क्यान्सर अस्पतालमा आउने बिरामीको संख्या बढ्दै गएको हो । बहिरंग सेवा सुरु गरेको अस्पतालले सिटी स्क्यान, रेडियोलोजी, केमोथेरापी, फार्मेसी, प्याथालोजी लगायतका सेवा दिँदै आएको छ ।

त्यसैगरी ल्याब, एक्सरे, भिडियो एक्सरे सेवा प्रदान गर्नुका साथै दुईवटा अत्याधुनिक अप्रेसन थियटरबाट सर्जरी सेवा दिइरहेको छ । झण्डै डेढ वर्ष अघिसम्म सर्जरी सेवा नरहेको क्यान्सर अस्पतालमा गत बर्षदेखि मान्छेमा क्यान्सर रहे नरहेको पत्ता लगाउन हिस्टोप्याथोलोजी सेवा सुरु भएपछि यस क्षेत्रका विरामीलाई चितवन, काठमाडौं र भारतका विभिन्न सहर धाउनुपर्ने बाध्यता हटेको छ ।

अस्पतालमा अत्याधुनिक प्रबिधिबाट उपचार सेवा पाएपछि बिरामीहरु पनि लाभान्वित भएका छन् । अस्पताल विकास समितिका अध्यक्ष मल्लका अनुसार निकट भविष्यमा क्यान्सरका थप विशेषज्ञ ल्याउने तयारी भएको छ । एक दशकअघि प्रखर परोपकार मिसनले धनधान्यञ्चल ज्ञान महायज्ञबाट संकलित रकमबाट निर्माण गरिएको अस्पताल सरकारीस्तरबाट सञ्चालित राजधानी बाहिर भरतपुरपछिको दोस्रो क्यान्सर अस्पताल हो ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १६:२७