सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा आजदेखि मतदान ! (तालिकासहित)

फाइल तस्वीर

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा आजदेखि नमूना मतदान कार्यक्रम सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले सञ्चालन गरेको नमूना मतदान कार्यक्रम २१ गतेसम्म हुनेछ ।

नमूना मतदानमा मतदाता लाइनमा कसरी बस्ने, ज्येष्ठ नागरिकलाई मताधिकार प्रयोग गर्न कसरी दिने, मतदान गर्ने विधिलगायतका विषयमा जानकारी दिइने जिल्ला निर्वाचन कार्यालय, बाँकेकी प्रमुख रमा पन्तले जानकारी दिइन् ।

जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने कार्यालय प्रमुख पन्तले जानकारी दिइन् ।

स्थानीय जनसहभागितामा आज जानकी र खजुरा गाउँपालिकामा नमूना मतदान अभ्यास तीन घण्टा र निर्वाचनका विषयमा एक घण्टा प्रस्तुतिकरण भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १७ गते नरैनापुर, १८ गते राप्तीसोनारी, १९ गते डुडुवा र नेपालगन्ज उपमहानगरपालिका एक घण्टा निर्वाचन सम्बन्धी प्रस्तुतिकरण र तीन घण्टा नमूना मतदान अभ्यास हुनेछ ।

त्यस्तै २० गते बैजानाथ र २१ गते कोहलपुर नगरपालिकामा एक घण्टा निर्वाचन सम्बन्धी प्रस्तुतिकरण र तीन घण्टा नमूना मतदान अभ्यास हुनेछ । ‘मतदान गर्नका लागि मतदातालाई अभ्यास होस् भनेर यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको हो,’ जिल्ला निर्वाचन कार्यालयकी प्रमुख पन्तले भनिन् ।

उनले यसपटकको निर्वाचनमा चार प्रकारका मतपत्र भएको जानकारी दिँदै प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकको दुई मतपत्र र प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक तर्फको दुई मतपत्र रहेका छन् । नमूना मतदानमा मतपत्रमा देखिएको भिन्नता र त्यसमा कसरी मतदान गर्ने भन्ने विधि पनि सिकाइएको पन्तले बताइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७९, बुधबार १३:५२