गत कात्तिक ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’लाई दर्शकले रुचाइरहेका छन् । प्रदर्शनकै दिनदेखि हल पुगेर निर्माण टिमले दर्शकको प्रतिक्रिया लिइरहेका छन् । उपत्यकाका दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
काठमाडौं उपत्यकाका दर्शकसँग भेटेर प्रतिक्रिया लिएको टिम मोफसलमा निस्किएको छ । कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँ, लेखक तथा निर्देशक प्रदीप भट्टराई, कलाकारहरू राजाराम पौडेल, अरुण क्षेत्री र अन्जना बराईली प्रतिक्रियाका लागि मोफसल निस्किएको हो ।
आज बुधबार नेपालगन्जका दर्शक भेटेर प्रतिक्रिया लिने टिम दाङ, बुटवल हुँदै चितवनसम्म पुग्नेछ । ‘हामी आज नेपालगन्जका दर्शकहरूसँग भेटघाट गर्नेछौँ । त्यसपछि दाङ, बुटवल हुँदै चितवनका दर्शकलाई भेटेर काठमाडौं फर्किने तयारी छ’, कार्यकारी निर्माता बानियाँले भने । निर्देशक भट्टराई पनि दर्शकको प्रतिक्रिया निकै सकारात्मक रहेको बताउँछन् ।
‘हामीले भन्न खोजेको विषयलाई कसरी लिनुहुन्छ भन्ने सोचिरहेको थिएँ । हल भिजिटमा पाएको प्रतिक्रियाले झनै हौसला मिलेको छ । यो हाम्रो समाजको गम्भीर विषयको सरल प्रस्तुति हो,’ फिल्म ‘महापुरुष’का निर्देशक भट्टराईले भने, ‘फिल्म हेर्न प्रायः परिवार नै एकसाथ आइरहेका छन् ।’
फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नव प्रस्तुतिमा अरुण क्षेत्री र अन्जना बराइली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकासप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ ।
षट्कोण आर्ट्स प्रालिको व्यानारमा निर्मित फिल्म ‘महापुरुष’को कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रैजात्रा फिल्म निर्माण गरेको थियो ।
सत्यपाटी संवाददाता । काठमाडौं