सूचनाको शक्ति - The Power Of Information

        

सन्दीपका विषयमा थुनछेकको टुंगो भोली लाग्ने

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेको जिल्ला अदालत काठमाडौंमा मंगलबार बयान गराइएको छ । सोमबार अभियोजन पत्र दायर भएपछि मंगलबारबाट उनको मुद्दामा सुनुवाई सुरु भएको हो ।

जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा यो मुद्दाको सुनुवाई भइरहेको हो। पहिलो दिन मंगलबार सन्दीपको बयान गराइएको छ । उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा थुनाबाहिर भन्ने निर्णय भने बुधबार मात्र हुने भएको छ ।

बलात्कार आरोपमा १० देखि १२ वर्ष कैद सजाय माग गर्दै सन्दीपविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यस्तै पीडितलाई क्षतिपूर्ति वापत ५ लाख रुपैयाँ भराउनु पर्ने अभियोग पत्रमा माग छ ।

एक नाबालिगलाई बलात्कार गरेको आरोपमा सन्दीप असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । भदौ २१ गते उनीविरुद्ध प्रहरी बृत गौशालामा उजुरी परेको थियो ।

यसअघि जिल्ला सरकारी वकिल कार्यालय र प्रहरीसामु भने सन्दीपले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए । पीडित भनिएकी किशोरी नाबालिग नभएको र आफूले बलात्कार नगरेको सन्दीपले दाबी गरेका छन् ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १८:१०