शेयर बजार आज मङ्गलवार उच्च अङ्कले बढेको छ ।
हिजो साेमवार १६ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से ५६ दशमलव ११ अङ्कले बढेर एक हजार नौ सय ३० दशमलव ९९ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा जलविद्युत्, विकास बैंक, लघुवित्त र उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकममा पनि सुधार भएको छ ।
दुई सय ३१ कम्पनीकाे ३९ लाख ७१ हजार कित्ता शेयर एक अर्ब २९ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज न्यादी हाइड्रोको शेयर १० प्रतिशतले, युनिभर्सल पावर कम्पनीको नौ प्रतिशत तथा अरू ६ वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
समग्रमा बजार बढेर हरियो भए पनि एनसीसी डिबेन्चर २०८६ र सिटिजन्स म्युचल फन्डको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ