सूचनाको शक्ति - The Power Of Information

        

साउदीमा एक सयभन्दा बढी नेपाली कामदार अलपत्र

वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका एक सयभन्दा बढी नेपाली अलपत्र परेका छन् । काठमाडौंको जेबी ओभरसिज मेनपावर कम्पनीमार्फत साउदीको रफैया पुगेका दुई जुम्लाका नागरिकसहित उनीहरू अलपत्र परेका हुन् ।

अलपत्र परेका जुम्ला तातोपानी गाउँपालिका–८ का अशोक बुढाथोकी र चन्दननाथ नगरपालिका–२ का लोकबहादुर भण्डारीका अनुसार उनीहरूसहित ४६ जना एकै कम्पनीमा काम गर्दै आएका थिए ।

साउदीको लदवा कोल्टी फर्मले ६ महिना मात्रै कामको पैसा दिएको अशोकले टोलिफोनमा जानकारी दिए । उनका अनुसार त्यसपछि यहाँ काम गर्ने अबधि सकिएको भन्दै सबै जनालाई पाँच सय मिटर टाढाको अर्को कम्पनीमा पठाएको थियो ।

साउदीको २२ नम्बर गल्लीमा रहेको अवैध कम्पनीले तीन महिनासम्म पारिश्रमिकविनै काममा लगाएको बुढाथोकी बताउँछन् । उनले भने, ‘त्यो कम्पनीसँग तीन महिना काम गरेको पारिश्रमिक माग्दा बन्दुक तेर्साएर कुटपिट गर्याे ।’

कुटपीटपछि तीन जनालाई प्रहरीको भ्यानमा राखेर हिरासतमा लिन लागेको थियो । त्यहाँ काम गर्ने ४६ जना नेपाली कामदार एक जुट भएर सबैलाई लैजान भनेपछि कुटपीट गरी लखेटेको थियो । उनीहरु सबै रफैयास्थित नेपालीले खोलेको एक होटलमा छन् । बुढाथोकीका अनुसार सबैको पासपोर्ट खोसेर त्यही कम्पनीले राखेको छ ।

अलपत्र रहेकाहरूले प्रहरी प्रशासन पनि कम्पनीसँग मिलेको आरोप लगाएका छन् । बुढाथोकीले भने, ’म बस्ने ठाउँमा कुनै अस्पताल छैन कुटपिटपछि छाती दुखिरहेको छ । घटना भएको ठाउँबाट अहिले तीन सय किलोमिटर टाढा बसेका छौँ ।’ जुम्लाकै लोकबहादुर भण्डारीको समेत कुटपिटबाट दाँत भाँचिएको उनले बताए ।

उनले भने, ’आफूसँग पैसा नहुँदा घरबाट २० हजार खोजेर हालिदिन अनुरोध गरेको छु । पैसा पाएपछि राजदुतावास गएर टिटी फर्म भर्छु ।’ उनीहरूलाई काठमाडौंको जेभी ओभरसिज म्यानपावर कम्पनीका एजेन्टले जनही दुई लाख ६० हजार रुपैयाँ लिएर गत ११ फागुनमा साउदी पठाएका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७९, मंगलवार १६:५०