भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरुप सवारी साधन प्रदान गरेको छ ।
मंगलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रम बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन उपहारस्वरुप हस्तान्तरण गरे ।
हस्तान्तरण गरिएका सवारीसाधनले आसन्न निर्वाचनलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने भारतीय दुतावासले जनाएको छ । कार्यक्रममा अर्थमन्त्री शर्माले सवारीसाधन लगायत विकास साझेदारका रुपमा नेपाललाई निरन्तर सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए ।
निर्वाचनले लोकतन्त्रलाई सुदृढका साथै आर्थिक सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । त्यस्तै भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चूनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास व्यक्त गरे । आगामी दिनमा पनि नेपाललाई भारतको निरन्तर सहयोग हुने उनको भनाइ थियो ।
नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका सवारीसाधन चुनावका दौरान प्रयोग गरिने छ । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दुतावासले जनाएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं