सूचनाको शक्ति - The Power Of Information

        

बेलायती राजनीतिमा सुनकको उदय

भारतीय मूलका ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का

४२ वर्षीय ऋषि सुनक बेलायतको इतिहासमै पहिलो भारतीय मूलका र अश्वेत जातिको प्रधानमन्त्री हुनेछन् ।

भारतीय मूलका ४२ वर्षीय ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने पक्का भएको छ । कन्जरभेटिभ पार्टीको टोरी लिडरको दौडबाट पेनी मोर्डन्टले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि उनी प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

सुनक यसअघि प्रतिद्वन्द्वी लिज ट्रससँग पराजित भएका थिए । बेलायती राजनीतिमा सुनकको निकै छिटो उदय भयो । उनले सन् २०१५ मा ३५ वर्षको उमेरमा पहिलो पटक संसद्को निर्वाचन जितेका थिए । सात वर्षपछि उनी अब प्रधानमन्त्री बन्न लागेका छन् ।

सुनक बेलायतको पहिलो भारतीय मूलका र अश्वेत जातिको प्रधानमन्त्री हुनेछन् । विपक्षी लेबर पार्टीका ७५ वर्षीय सांसद वीरेन्द्र शर्माले ऋषि सुनकलाई राम्ररी चिनेका छन् । दुवै भारतीय मूलका सांसद पनि हुन् र दुवैको ‘कनेक्सन’ पञ्जाबसँग जोडिएको छ ।

शर्मा भन्छन्, ‘आज हामी यस्तो तहमा पुगेका छौँ कि यहाँ बस्ने समुदाय, यहाँको राजनीतिक अवस्था, समाजको हिस्सा बनेका छौँ । त्यसैले आज आर्थिक रूपमा डायस्पोरा (भारतीय मूलका) बनेका छन्, एक शक्ति, हाल हामीसँग राजनीतिमा लगभग ४० एसियाली र अश्वेत सांसदहरू छन् ।’

बन्ने भयो इतिहास

सन् २००८ मा अमेरिकामा बाराक ओबामा राष्ट्रपति निर्वाचित हुँदा जस्तै ऋषिको प्रधानमन्त्री बन्नु ऐतिहासिक क्षण हुने धेरै विज्ञहरू बताउँछन् । सुनकभन्दा अगाडि पनि दक्षिण एसियाली मूलका नेताहरू ठूलो पदमा पुगिसकेका छन् । प्रिति पटेल बेलायतको गृहमन्त्री र सादिक खान लण्डनका मेयर बनेका छन् ।

तर, अहिलेसम्म एसियाली मूलका कोही पनि प्रधानमन्त्री पदको दावेदार बनेका थिएनन् । राजनीतिक विश्लेषकहरूका अनुसार ऋषिको उदय एसियाली समुदायहरूको सफलतासँग जोडिएको छ । ऋषिजस्ता नेताको उदयका कारण नै बेलायती समाजमा विविधता आएको उनीहरुको भनाइ छ ।

लण्डनस्थित मिडलसेक्स विश्वविद्यालयमा पढाउने डा निलम रैना भन्छिन्, ‘यो ऐतिहासिक त हुनेछ नै किनभने भारतको तुलनामा संसदमा धार्मिक र जातीय अल्पसंख्यक समुदायको प्रतिनिधित्व धेरै छ । तर, तिनीहरूको फरक जातीय पहिचान भएकाले यो ऐतिहासिक हुनेछ ।’ ऋषि भारतीय मूलका तेस्रो पुस्ता हुन् ।

उनका हजुरबा हजुरआमा भारतको विभाजनअघि नै पाकिस्तानी पञ्जाबको गुजरनवाला सहरबाट पूर्वी अफ्रिका बसाइ सरेका थिए । धेरै वर्षपछि, उनीहरु इङ्गल्याण्डको साउथ ह्याम्पटन शहरमा बसोबास गरे । जहाँ ऋषि सुनकको जन्म १९८० मा भएको थियो । उनी सोही शहरमा हुर्केका थिए ।

बेलायतका सबैभन्दा धनीमध्येका एक

बेलायतमा ऋषि सुनक निकै धनी भएको जनविश्वास रहेको छ, जुन आम मानिसबाट टाढा हुनुको प्रमुख कारण बनेको छ । भर्खरै गरिएको सर्वेक्षण अनुसार उनी बेलायतका २५० सबैभन्दा धनी परिवारमा पर्छन् । तर, के उनको जन्म धनी परिवारमा भएको थियो ? वैदिक सोसाइटी टेम्पल साउथ ह्याम्प्टनको एउटा ठूलो हिन्दू समुदायको मन्दिर हो ।

ऋषि सुनकका परिवारका सदस्यहरू यसको संस्थापकमध्येका एक हुन् । उनको बाल्यकाल यही मन्दिरको वरिपरि बित्यो, जहाँ उनले हिन्दू धर्मको शिक्षा पाएका थिए । ७५ वर्षीय नरेश सोनचाटलाले ऋषि सुनकलाई बाल्यकालदेखि नै चिनेका हुन् । उनी भन्छन्, ‘सुनक ऋषि सानैदेखि आमाबुवा र हजुरबा हजुरआमासँगै मन्दिर आउथे ।’

सञ्जय चन्दराना कर्पोरेट जगतमा एक महत्वपूर्ण नाम हो । उनी वैदिक समाज हिन्दू मन्दिरका अध्यक्ष पनि हुन् । गत महिना मन्दिरमा आएका बेला उनले ऋषिलाई भेटेका थिए । मन्दिरमा उनले समुदायका सबै मानिसहरूलाई भेटे ।

त्यो भेटको स्मरण गर्दै सञ्जय भन्छन्, ‘उहाँ रोटी बनाउँदै हुनुहुन्थ्यो, रोटी गोलो बन्दैथियो, त्यसैले मैले उहाँलाई घरमा पनि खाना पकाउनुहुन्छ? भनेर सोधेँ, जवाफमा उहाँले भन्नुभयो हो, मलाई पकाउन मन पर्छ । हामीले उहाँलाई सोध्यौं कि तपाई बाल विकासका विद्यार्थी (यस मन्दिरमा)सँग भेट्न चाहनुहुन्छ? त्यसपछि उहाँले हुन्छ भन्नुभयो र हामी त्यहाँ गयौँ ।’

उनका बुबा यशवीर सुनक डाक्टर हुन् भने आमा उषा सुनकले हालसम्म केमिस्टको पसल चलाउने गर्दथिन् । उनहरु अहिले पनि यही सहरमा बस्छन् । ऋषि सरल, धार्मिक हिन्दू धर्म मान्नेहरूमध्येका एक हुन् । उनको परिवारमा पढाइ र करियरमा बढी जोड दिइन्छ । त्यसैले उनका बुबाले उनलाई निजी विद्यालयमा पढाए ।

अर्थमन्त्रीको रुपमा कस्तो रह्यो काम ?

आफ्नो वेबसाइटमा उनी लेख्छन्, ‘म राम्रो विद्यालयमा जान सकूँ भनेर मेरा आमाबाबुले धेरै त्याग गर्नुभयो । म विन्चेस्टर कलेज, अक्सफोर्ड विश्वविद्यालय र स्ट्यानफोर्ड विश्वविद्यालयमा पढ्न पाउँदा भाग्यशाली महसुस गर्छु ।’ कोभिड–१९ महामारीको ठिक अघि ऋषि बेलायतको अर्थमन्त्री बनेका थिए ।

यो उनको लागि ठूलो उपलब्धि थियो किनभने बेलायतमा प्रधानमन्त्री पदपछि अर्थमन्त्रीको पद दोस्रो उच्च मानिन्छ । उनले अर्थमन्त्रीको रुपमा निकै राम्रो काम गरे, जसकारण पनि धेरैले उनलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहन्छन् । ऋषिले सन् २००९ मा बेंगलोरमा इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसँग विवाह गरेका थिए । अहिले उनीहरुका दुई सन्तान पनि छन् ।

उनको ७३० मिलियन पाउन्डको घोषित सम्पत्तिको मालिक धेरै हदसम्म उनकी श्रीमती रहेको बताइन्छ । ऋषि आफ्नै मेहेनतले धनी बनेका हुन् । उनी आफ्नो वेबसाइटमा भन्छन्, ‘म सफल व्यावसायिक करियरको आनन्द लिन पाउँदा भाग्यशाली छु । मैले सिलिकन भ्यालीदेखि बैंगलोरसम्मका कम्पनीहरूसँग मिलेर काम गरिरहेको एउटा ठूलो लगानी फर्मको सह–स्थापना गरेको छु ।’

 

– एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १०:२३