जुम्ला सदरमुकाम खलङ्गामा दुई हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।
गएको असोज १९ गतेदेखि परेको एक हप्ताको अविरल वर्षासँगै आएको बाढी पहिरोले राष्ट्रिय प्रसारण लाइनमा क्षति गरेपछि विद्युत् आपूर्ति अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिनुभयो । बाढी पहिराले जुम्ला र कालीकोट खण्डमा ९० वटा पोल र तारमा क्षति पुगेको छ ।
खलङ्गामा दुई हप्तादेखि नेसनल ग्रिड अवरुद्ध भएपछि स्थानीय घुघुत्ती र जाल्पादेवी साना जलविद्युत् आयोजनाको बिजुली जुम्ला सदरमुकाम खलङ्गामा काम चलाउ वितरण भइरहेको छ ।
यही बिजुली पनि चौबिसै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन । टोल र क्षेत्र क्लष्टर मिलाएर बिजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताउनुभयो ।
सत्यपाटी संवाददाता । जुम्ला