हल्कारापुरुवाका रामसुहावन यादवले भैँसी बिरामी रहेको खबर गरे । पालिकाबाट पशु प्राविधिकको टोलीले यादवको घरमै गएर भैसीको उपचार गरिदियो । यादव डुडुवाका धेरै भैँसी पाल्ने कृषकमा गनिन्छन् । उनीसँग १२० वटा भैँसी छन् ।
भैँसीपालन फार्म सञ्चालन गरेका यादवले दैनिक ३०० लिटर बढी दूध नेपालगन्ज र कोहलपुर पुर्याउँछन् । रामबहादुर थापा र गीता बोहराले फोनबाट आफ्नो पशु बिरामी भएको खबर पालिकामा गरे । पशु प्राविधिकको टोलीले दुवै जनाको घरमा गएर उपचार र औषधि दियो ।
यसरी पालिकाले घरमै गएर पशुको उपचार गरिदिने भएपछि कृषक लाभान्वित भएका छन् । ‘घरघरमा पशु स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन भएपछि पशु पाल्ने ठूलो सङ्ख्यामा किसानले लाभ लिएका छन् । डुडुवा गाउँपालिकामा १० हजार घरधुरीमध्ये ८ हजार ७८६ घरधुरीले पशुपालन गरिरहेका छन् ।
कृषकले पालेका पशुलाई पालिकाले नौ जना प्राविधिक खटाएर घरमै सेवा दिइरहेको पशु शाखाका प्रमुख अशोककुमार पाण्डेले जानकारी दिए । पालिकाले घरघरमा पशु स्वास्थ्य कार्ड वितरण गरेको छ । कार्डमा जनचेतनामूलक सन्देशसँगै दुई वटा ‘हटलाइन’ मोबाइल नम्बर लेखिएको छ । ९८४४८५१०६९ र ९८५८०४६०४७ नम्बरको मोबाइलमा किसानले फोन गरेर आफ्ना समस्या राख्न सक्छन् ।
आफ्ना पशु बिरामी भएको खबर गर्न सक्छन् । यसमा रहेको पहिलो नम्बर पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीको हो । उनले स्वयम् कुनै पनि नागरिक तथा किसान सेवाबाट बञ्चित नहोस् र आफूले पनि सेवाको अनुभुतिका लागि पनि आफ्नो सम्पर्क नम्बर राखेका छन् । उनले सेवाको गुणस्तरीयताका लागि आफ्नो नम्बर राखेका हुन् ।
अध्यक्ष चौधरीलाई किसानले पशु बिरामीसँगै आफ्ना अन्य समस्या पनि राख्ने गर्दछन् । यो नम्बरमा फोन आउने बित्तिकै पालिकाबाट पशु प्राविधिक किसानको घरमै पुग्छन् र पशुको उपचार गर्छन् । पालिकाले फोन उठाउनका लागि शंकर यादवलाई खटाएको छ । यादवको काम नै किसानको फोन उठाउने र प्राविधिकलाई खबर गर्ने रहेको छ ।
यादवलाई किसानको फोन उठाउने र पशु प्राविधिकलाई खबर गर्न भ्याइनभ्याइ नै हुन्छ । दिनमा सय कल बढी फोन आउने पशु शाखा प्रमुख पाण्डेले बताए । उनले भने, ‘किसानको फोनलाई पछ्याएर पशु प्राविधिकहरू उनको घरमा पुग्छन् ।’ डुडुवामा करिब २६ हजार बढी गाईभैँसी र आठ हजार बढी बाख्रा पालिएका छन् ।
माथिल्लो भेगमा बाख्रा र तल्लो भेगमा भैँसी पाल्ने कृषक बढी छन् । नेपालगन्जमा आउने दूध धेरैजसो डुडुवाका किसानकै हुने गर्दछ । पशु शाखाका अनुसार डुडुवाका किसानले ६ वटा डेरीमार्फत महिनामा १८ लाख लिटर दूध बेच्ने गर्दछन् । पालिकाले आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण कार्यक्रम सञ्चालन गरेको छ ।
६–६ महिना प्राविधिकहरू घरमै गएर जुका र जुम्राको औषधि दिने गर्छन् । ६ हजार ४९७ घरधुरीमा पुगेर यो वर्ष औषधि दिइएको छ । पालिकाले सञ्चालन गरेको ल्याबमा गोबर परीक्षण हुन्छ । पशुमा जुका देखिएमा नियमित औषधि दिने गरिन्छ । कुनै किसानको पशु बिरामी भयो भने पशु प्राविधिक किसानको घरमा गइरहन्छन् ।
पालिकाले किसानको पशुको बिमामा जोड दिएको छ । पशु बिमाप्रति किसानको ध्यान गइसकेको छैन । किसान रामसुहावनले ६० वटा भैँसीको बिमा गराएका छन् । बिमा गराउने किसानलाई पालिकाले अनुदान दिने गरेको छ । पालिकाले आफैँले बिमा गरिदिने नीति अघि सारेको छ ।
पालिकाले सुरु गरेको नश्ल सुधार कार्यक्रममार्फत कृत्रिम गर्भाधान गरेर उन्नत जातको पाडी र बाछी जन्माइन्छ । पालिकाले ३८८ वटा भैँसी र गाईको कृत्रिम गर्भाधान गरेको छ । कृत्रिम गर्भाधान गर्दा उन्नत जातको पाडी र बाछी जन्मिने र त्यसले बढी दूध दिने विश्वास गरिन्छ । स्थानीय जातका गाईमा जर्सी र भैँसीमा मुर्रा जातको राँगाबाट गर्भाधान गरिन्छ ।
कृत्रिम गर्भाधान गरिएको आमालेभन्दा पाडी र बाछीले बढी दूध दिने पशु प्राविधिक हिक्मतबहादुर खत्री बताउँछन् । पालिकाले बाख्रामा पनि कृत्रिम गर्भाधान गराउने नीति अघि सारेको छ । स्थानीय जातको बाख्रामा उन्नत जातको बोकाबाट कृत्रिम गर्भाधान गराउँदा राम्रो पाठापाठी जन्मिने गर्दछ ।
राम्रो र ठूलो साइजका पाठापाठी जन्मिएपछि किसानलाई बेच्दा फाइदा हुन्छ । आगामी वर्षदेखि केही किसानलाई समेटेर बिउका लागि उन्नत जातका बोका वितरण गर्ने रणनीति बनाइएको पालिकाले जनाएको छ । किसानले आफ्ना बाख्रामा कृत्रिम गर्भाधान पनि गर्न सक्छन् । गाउँपालिकाले हरेक वर्ष पशु विकास कार्यक्रमका लागि ठूलो बजेट छुट्याउने गरेको छ ।
आर्थिक वर्ष २०७८–०८९ का लागि रु एक करोड ४१ लाख बजेट विनियोजन गरेको थियो भने यो वर्ष गाउँसभा अहिलेसम्म नहुँदा नयाँ बजेट विनियोजन गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । निर्वाहमुखी नभएर किसानलाई व्यवसायीकरण गर्दै लैजाने नीति अघि सारिएको उनको भनाइ छ । चरिचरन, घाँसको सुविधा रहेकाले डुडुवाका किसानलाई पशुपालन सहज भएको छ ।
राकेशकुमार मिश्र । रासस । बाँके