सूचनाको शक्ति - The Power Of Information

        

तिहार विशेष

कृत्रिम फूलका मालाले ‘मखमली र सयपत्री’ ओझेलमा

कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीक मानिन्छ ।

‘मखमली फूल्दा मार्सीधान झुल्दा बहिनी आउनेछिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउनेछिन्’ प्रसिद्ध गायक नारायण रायमाझीले गाएको गीत हो यो । यो गीत सुन्दा अहिले पनि समय–सान्दर्भिक लाग्छ । शरद ऋतुको आगमनसँगै शहर बजार र गाउँघरतिर यो गीत धन्किन थाल्छ ।

यो गीत घन्किन सुरु भएसँगै हिन्दुहरुका चाडपर्वहरु सुरु भएको संकेत पनि मिल्छ । दशैंतिहारको समयमा बज्ने यो गीतले खेतीपाती भित्र्याउने चटारोसँगै नेपाली समाजलाई चाडपर्वले छपक्कै छोपेको आभाष दिलाउँछ । पुराना पुस्ताले अहिले पनि भाइटीकामा मखमली र सयपत्री फूल नै खोज्ने गर्दछन् ।

दाजुभाइ र दिदीबहिनीबीचको सम्बन्ध प्रगाढ बनाउने भाइटीकामा दाजुभाइका लागि दिदीबहिनीले दीर्घायुको कामना गर्दै कहिल्यै नओइलाउने मखमली फूलको माला लगाइदिने चलन छ । कहिल्यै नओइलिने भएकाले मखमली फूलको मालालाई दीर्घायु र स्वस्थ जीवनको प्रतीक मानिन्छ ।

‘दाई मेरो कहाँ गयो मखमली फूल ओइलायो’ गायक रायमाझीकै गीतका यी शब्द सुन्दा परदेशमा रहेका दाजुलाई सम्झेर बहिनीले मखमली फूल ओइलायो, तर दाजु भाइटीकामा नआएको पीडा झस्काइदिन्छ । तिहारको अवसरमा दिदीबहिनीले दाजुभाइको लामो आयुको कामना गरी मखमली फूलको माला लागाइदिन्छन् ।

सयपत्री फूलसँग गाँसेर मखमली फूलको महत्वलाई जोगाइराख्न भाइटीकामा दाजुभाइलाई मखमली फूलको माला लगाइदिने गरिन्छ । पछिल्लो समय भने गाउँघरतिर मखमली र सयपत्री फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारमा गएर प्लाष्टिकका माला किनेर ल्याउने बढेका छन् ।

‘तिहारमा कुन फूलको माला लगाउने हो अबका पुस्ताले महत्व चिन्नै छाडेजस्तो लाग्यो,’ वीरेन्द्रनगर नगरपालिका–४ का खगेन्द्र खनालले भने, ‘गाउँघरमा यो फूल पाउनै मुस्किल छ ।’ मखमली फूल लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै खनालले अहिले यो फूल गाउँघरमा पाइनै छाडेको पनि बताए ।

‘मखमली फूल सुन्दै तिहारको झल्को आइहाल्छ, पहिला–पहिला त घर वरपर दुई–चारवटा बोट भए पनि मखमली फूल हुन्थ्यो, अहिले त फूलमा त्यति महत्व नदिदा गाउँघरमा यस्ता परम्परागत चलनचल्तीमा आएका पर्व विशेष महत्व राखेका मखमली लगायतका फूलको संरक्षण हुन नसक्दा लोप हुँदै गएको छ,’ खनालले भने ।

दिदीबहिनी र दाजुभाइको प्रेमलाई पवित्र गाँठोमा बाँध्न सफल मखमलीको माला नेपालीहरूका लागि तिहारको अभिन्न अङ्ग बनिसकेको छ । वीरेन्द्रनगर नगरपालिका–५ का प्रकाश आचार्यले तिहारमा मखमली फूलको महत्व नबुझेर लोप हुन लागेकामा चिन्ता व्यक्त गरे । मखमली फूल हराउँदै जाँदा यसको संरक्षणमा कसैले चासो नदेखाएको उनले बताए ।

उनले भने, ‘तिहारजस्तो पर्वमा पनि दाजुभाइलाई मखमली फूलको माला पहिराउन नपाउँदा तिहार खल्लोजस्तो हुन्छ, पहिला त घर वरिपरि बारीका डिल, कान्ला जताततै मखमली फूलमात्रै हुन्थे, हिजोआज भेटिँदैनन् ।’ अहिले बजारमा आएका सस्ता र कृत्रिम फूलका मालाले मखमली र सयपत्री फूल लोप हुँदै गएको पनि आचार्यले बताए ।

सुपारीजस्तो गोलाकार मखमली फूल पनि सयपत्रीझैं सयौँ फूलको पुष्पपुञ्ज हो । नामले मखमली भनिएता पनि यो फूल नरम, कोमल र कलिलो नभई खस्रो हुन्छ । वैजनी र प्याजी रङमा फूलने मखमली तिहारमा विशेष लोकप्रिय र महत्वपूर्ण मानिन्छ । संस्कृतमा रक्त मल्लिका भनिने यो फूल देख्दा पनि सुन्दर मानिन्छ ।

नझर्ने, नओइलाउने र वर्षौँ पनि टिक्ने हुनाले यसको अजम्बरी प्रकृतिलाई आत्मसात गरेर दिदीबहिनीले आफ्ना दाजुभाइलाई मखमली फूलको माला लगाइदिएर दीर्घायुको कामना गर्छन् । मखमली फूल नेपालीहरूका लागि सांस्कृतिक महत्व बोकेको प्रसिद्ध फूल हो । सेतो, गाढा कलेजी तथा हल्का रातो रङमा फूल्ने मखमली फूल भाइटीकामा विशेष प्रयोगमा आउँछ ।

छुँदा घोच्ने, मखमलको कपडाजस्तो सेता, गाढा कलेजी र हल्का रातो रङमा फूलने गर्दछ । यस फूललाई नरम मखमली नाम दिइन्छ । पछिल्ला वर्षका तिहारमा मखमली फूलको माला देखिनै छाडेको छ । अर्कोतर्फ मखमली फूलसँगै गाउँघरमा फूलने सयपत्री र गुरधौली फूल पनि देखिन छाडेको वीरेन्द्रनगर नगरपालिका–४ का लोकप्रसाद रेग्मीको भनाई छ ।

कृत्रिम मालामा उपभोक्ताको आकर्षण

पछिल्लो समय प्लाष्टिकका कृत्रिम मालाको प्रयोग बढेपछि सयपत्री, मखमली र गुरधौली फूल लोपोन्मुख भइसकेको छ । पहिलाको तुलनामा सयपत्री फूल पनि कम पाइन्छ । प्राकृतिक फूलको महत्वलाई बिर्सँदै गएकाले गाउँघरमा ढकमक्क फूल फूले पनि देखाउनकै लागि प्लाष्टिकको माला प्रयोग गर्ने संस्कार बस्न थालेको छ ।

प्लाष्टिक तथा कृत्रिम मालाको प्रयोग बढ्दै जाँदा तिहारमा मखमली फूलले विशेष महत्व राखे पनि गाउँघरमा संरक्षण नगरिँदा हराउँदै गएको रेग्मीको भनाई छ । हिन्दू धार्मिक परम्परा अनुसारका चाडपर्वमा सोही अनुसारका फूल र माला प्रयोग गर्नुपर्ने भए पनि विश्वकर्मा बाबाको पूजादेखि तिहारसम्म पनि कतिपयले प्लाष्टिकका माला प्रयोग गर्ने गरेका छन् ।

सुर्खेतको बजारमा रहेका कस्मेटिक पसलदेखि सडक छेउका ठेलामा समेत रंगीचंगी कृत्रिम माला छ्याप्छ्याप्ती देखिन्छन् । तिहार नजिकिँदै गर्दा बजारभरी कृत्रिम माला बिक्रीका लागि छ्याप्छ्याप्ती राखिएका छन् । सरकारले प्लाष्टिकका फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरणमा पूर्ण रोक लगाए पनि उपभोक्ताको आकर्षण भने कृत्रिम मालामै बढी देखिन्छ ।

चाडपर्वमा चाहिनेजति फूलको माग धान्न नसकेर पनि छिमेकी देश भारतबाट हरेकवर्ष धेरै मात्रामा प्लाष्टिकका कृत्रिम मालाहरु भित्रिने गरेका छन् । सुर्खेतमा प्राकृतिक फूलले अभाव पूर्ति गर्न सक्ने अवस्था रहे पनि कर्णालीका पहाडी जिल्लाहरुमा भने अहिले पनि थानका थान भारतीय बजारमा बनेका प्लाष्टिकका कृत्रिम माला नै पुग्ने गरेका छन् ।

सुर्खेतमा लामो समयदेखि कस्मेटिक व्यवसाय गर्दै आएकी अमृता शर्मा न्यौपानेले कर्णालीका पहाडी जिल्लाहरुबाट हरेक वर्ष चाडपर्वमा कृत्रिम मालाको माग बढ्ने गरेको बताइन् । ‘चाडपर्वको सिजनमा पहाडी जिल्ला र सुर्खेतको पश्चिमतिरको व्यवसायीले अधिकांश माला लैजानुहुन्छ’, उनले भनिन्, ‘पहिलेजस्तो पूmल नपाइने भएकाले कृत्रिम माला धेरै विक्री हुन्छ ।’

वीरेन्द्रनगरको तल्लो बजारमा रहेको फिरोज कस्मेटिक पसल पनि अहिले प्लाष्टिकका मालाले ढपक्कै ढाकिएको छ । दशै सकिएलगत्तै पूरै पसलभरी मालाले मात्रै ठाउँ पाएको छ । रु.५० देखि रु.एक हजारसम्म पर्ने कृत्रिम माला हरेक वर्ष तिहारको समयमा यसरी नै सजाएर विक्री गर्दै आएको पसल सञ्चालक फिरोज खानले बताए ।

‘पहिलो कुरा त माला बनाउने फूलनै अभाव हुन्छ, पाइएपनि महंगो पर्छ,’ उनले भने, ‘पैसा नहुनेले त चाडपर्वका बेला फूलमालामा खर्चिनुभन्दा बरु खानपिनमै खर्च गर्छन् ।’ कृत्रिम माला नझर्ने, नओइलाउने, नसुक्ने र अर्को साल पनि बिक्री गर्न सकिने भएकाले पनि उपभोक्ताको आकर्षण रहेको पसल सञ्चालक खानले बताए ।

आर्थिकरुपमा पनि सस्तो पर्ने हुँदा कृत्रिम फूलमालातिर आकर्षण बढेको उनले बताए । उनले रु.५० देखि रु.एक हजार मूल्यसम्मका माला बेच्ने गरेको बताए । प्राकृतिक फूलप्रतिको लगाव भए पनि विक्रिका लागि सहज नहुँदा समयस्या भएको उनी बताउँछन् । प्राकृतिक फूल विग्रीने र व्यापारमा घाटा लाग्ने भएकाले कृत्रिम फूलमाला बेच्ने गरेको उनको भनाई छ ।

अहिले वीरेन्द्रनगरका कस्मेटिक तथा फुटपाथका पसलहरु रंगिबिरंगी ‘कृत्रिम’ मालाले सजिएका छन् । ब्यापारीले कृत्रिम मालाले पसल झकिझकाउ पारेका छन् । रेशम, प्लाष्टिक र रगिंन कपडाबाट बनाइएका कृत्रिम मालाको व्यापार बढेको वीरेन्द्रनगरका अर्का कस्मेटिक अर्का कस्मेटिक पसल सञ्चालक प्रकाश गिरीले बताए ।

यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होइनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको गिरीले बताए । यसवर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको दबदबा रहेको व्यापारीहरु स्वयम स्वीकार गर्छन् । ग्राहकहरुको पनि कृत्रिम मालाप्रति नै आकर्षित हुने गरेका छन् ।

गिरीले अघिल्ला वर्षमा पनि फूलका मालाभन्दा भारतीय कृत्रिम मालाले बजारमा आफ्नो प्रभुत्व जमाएको बताए । स्वेदशमै प्रर्याप्त फूल खेती नहुने भएपछि फूलमा पनि भारतमै भर पर्नुपर्ने उनले सुनाए । ‘चाडबाड होस्, वा अन्य कुनै कार्यमा प्रयोग हुने फूलका लागि भारतीय उत्पादनमा भर पर्नुपर्ने बाध्यता छ,’ उनले भने ।

हरेक वर्ष दशैंतिहार जस्ता चाडबाडमा फूल र फूलबाट निर्मित मालाहरु भारतबाटै आउने गरेको छ । गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती प्रर्याप्त नहुँदा अहिले बजारमा रहेका कृत्रिम मालाहरुको प्रयोग बढेको व्यावसायीहरु बताउँछन् । हिन्दू परम्परा अनुसार हरेक धार्मिक कार्यमा फूल अनिवार्य हुन्छ ।

अझ फूल विनाको तिहार कल्पना गर्न सकिँदैन । तिहारको अस्तित्व कृत्रिमतामा होइन प्राकृतिकतामा छ । मखमली, गोदावरी, सयपत्री र हजारी लगायतका फूलहरु फूलने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । तर, आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहार लगायतका विभिन्न चाडपर्वमा कृत्रिमताको प्रभाव बढ्दै गएको पाइन्छ ।

यसले नेपाली मौलिकता पन ह्रास हुनुका साथै बजारमा रंगिविरंगी सजिएका कृत्रिम माला स्वदेशी उत्पादन नभएर आयातित हुँदा वर्षेनी कृत्रिम मालामा लाखौं रुपैयाँ भारत जाने गरेकोले स्वदेशमै फूलको उत्पादनलाई बढावा दिन सरकारले प्रभावकारी कार्यक्रम ल्याउन जरुरी रहेको बताउँछन्, सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेल ।

उनले किसानलाई फूलको उत्पादन र हस्तकला भएकाहरुका लागि स्वदेशमै कृत्रिम सामाग्री उत्पादनमा लगाउनुपर्ने बताए । स्वदेशी उत्पादनलाई प्रवद्र्धधन गर्न र प्लाष्टिकजन्य पदार्थको खपत घटाउनकै लागि सरकारले कृत्रिम फूलमालामा चर्को कर लगाए पनि आयातामा कमी आउन नसकेको अध्यक्ष कँडेलको भनाई छ ।

पछिल्लो समय तिहारमा घरमै फूलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उनीहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिक रुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने उनीहरुको तर्क छ ।

स्रोत : पछिल्लो समय भने गाउँघरतिर मखमली र सयपत्री फूल हराउँदै गएको छ । फूल जोगाउनतिर कसैको ध्यान छैन, बजारबाट प्लाष्टिकका कृत्रिम माला किनेर ल्याइन्छ ।
प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १३:१७