सूचनाको शक्ति - The Power Of Information

        

आपराधिक गिरोहबीच विवाद

मध्यरातमा त्रिभुवन चोकमा गोली चल्यो, नेपालगन्जको सुरक्षा व्यवस्था फितलो

तिहारको बेला र आसन्न निर्वाचनको सम्मुखमा गोली चलेपछि नेपालगन्ज थप जोखिम र खतरापूर्ण रहेको संकेत गरेको छ भने यहाँको शान्ति सुरक्षामा प्रश्न उठेको छ ।

नेपालगन्जमा आइतबार मध्यरातमा गोली चलेको छ । नेपालगन्ज उपमानगरपालिका–८ त्रिभुवन चोक नजिकै दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार मध्यरातमा राती करिब १२ बजे दुई आपराधिक गिरोहबीच विवाद हुँदा गोली चलेको हो । प्रहरीका अनुसार दुई समूहबीच विवाद हुँदा एक पक्षले अर्को पक्षलाई घेरेपछि घेरामा परेको पक्षले हवाई फायर गरेर भागेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता रामप्रसाद घर्ती मगरले उक्त घटनामा दुईवटा आपराधिक गिरोहको संलग्नता रहेको प्रारम्भिक सूचना प्राप्त भएको र केही व्यक्तिहरुको नाम पनि प्रहरीले प्राप्त गरेको जानकारी दिए ।

नेपालगन्जकै स्थानीयवासी रहेका उनीहरुको खोजीकार्य तीव्र पारिएको प्रहरी प्रवक्ता घर्ती मगरले जानकारी दिएका छन् । उनले यस घटनालाई गम्भीर घटनाका रुपमा लिएर अनुसन्धान सुरु गरेको जानकारी दिए ।

सीमावर्ती शहर नेपालगन्जमा हातहतियारको अवैध घुसपैठ हुने जोखिम उच्च छ । तिहारको बेला र आसन्न निर्वाचनको सम्मुखमा गोली चलेपछि नेपालगन्ज थप जोखिम र खतरापूर्ण रहेको संकेत गरेको छ भने यहाँको शान्ति सुरक्षामा प्रश्न उठेको छ ।

चाडपर्वका बेला मध्यरातमा सधैं सुरक्षा घेरामा रहने नेपालगन्जको त्रिभूवन चोकमै गोली चल्नुले नेपालगन्जको शान्ति सुरक्षा नाजुक रहेको नेपालगन्जबासीको दावी छ । प्रहरीले सुरक्षा व्यवस्थामा संवेदनशील नभएको स्थानीय बताउँछन् ।

घटनामा मानवीय क्षति भने भएको छैन । घटनामा संलग्नहरूको खोजी भइरहेको जिल्ला जनाए पनि प्रहरीले खोजीकार्यमा संवेदनशीलता देखाएको छैन । गोली चलाउनेहरूका बारेमा जानकार रहेको प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन ।

प्रहरीले रातभरि पहरा दिइरहने ञिभुवन चोकमा भएको गोलीकाण्डपछि निर्वाचन सुरक्षाको विषयलाई लिएर यहाँका नागरिक त्रसित भएका छन् । स्रोतका अनुसार उनीहरू एमाले–राप्रपाका निकटका आपराधिकक पृष्ठभूमिका व्यक्तिहरु रहेको प्रहरी स्रोत बताउँछ ।

आपसी लेनदेनको विषयमा विवाद चर्किँदा गोली चलेको प्रहरी स्रोत बताउँछ । तर, प्रहरीले भने घटनालाई गम्भीर रुपमा लिएको प्रहरी प्रवक्ता घर्ती मगरले बताए । निर्वाचन तथा चाडपर्वको सुरक्षालाई लिएर प्रहरी निकै सचेत र तयारी अवस्थामा रहेको उनले बताए ।

राति अबेरसम्मै जागा रहने नेपालगन्जको त्रिभुवन चोकले आफ्नो छुट्टै महत्व बोकेको छ । राजनीतिक रूपमा पनि निकै रणनीतिक मानिने यो चोकमा सबैजसो राजनीतिक दलहरूको सम्पर्क कार्यालय पनि रहेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार १२:३७