सूचनाको शक्ति - The Power Of Information

        

भेटिएनन् बबई नदीमा डुबेका किशोरी

दाङको बबई नदीमा नुहाउन गएका दुई किशोरी डुबेर बेपत्ता भएको २४ घण्टासम्म पनि भेटिएका छैनन् ।

तुलसीपुर इलाका प्रहरी कार्यालयका अनुसार शनिबार दिउँसो पौने २ बजेतिर डुबेर बेपत्ता भएका दुई किशोरी आज दिउँसो पौने २ बजेसम्म पनि नभेटिएका हुन् ।

घटनास्थलमा रहेका उक्त कार्यालयका प्रहरी नायब निरीक्षक वीरबहादुर भण्डारीका अनुसार उनीहरु डुबेको स्थान गहिरो भएको र त्यहाँ जाली पनि भएकाले जालीमा अड्किएको हुनसक्ने भएकाले पनि भेटाउन गाह्रो भएको छ ।

स्थानीयवासीले पानी मुनि गएर खोज्दा पनि भेटाउन सकेका छैनन् । बेपत्ताको खोजीका लागि बाँकेको शम्शेरगन्जबाट गोताखोरको बोलाइएको छ ।साढे १२ बजेतिर शम्शेरगन्जगबाट उक्त टोली त्यहाँ पुगिसकेको र खोजी गर्ने तयारी गरिरहेको छ ।

शनिबार दिउँसो पौने २ बजेतिर नदीमा नुहाउन गएका दङ्गीशरण गाउँपालिका–२ सिमलकुुना निवासी अन्दाजी १५÷१६ वर्षीया रमा शाही र सल्यान दमाचौर घर भई दङ्गीशरण २ स्थित मामाघर आएकी अन्दाजी १४÷१५ वर्षीया गोमाचन्द बगेर बेपत्ता भएका हुन् ।

तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ को सिमानामा पर्ने सोही क्षेत्रमा नुहाउन तीन किशोरी गएका थिए । तीमध्ये दुईजना पौडी खेल्न बीचमा गएको र अर्की दङ्गीशरण–२ सिमलकुना निवासी १३ वर्षीया निरुता बस्नेत छेउमै थिइन् । उनीहरु दुबैजना डुबेपछि निरुताले स्थानीयलाई खबर गरेपछि स्थानीयले प्रहरीलाई बोलाएका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार १६:२९