सूचनाको शक्ति - The Power Of Information

        

फूलमा आत्मनिर्भर बन्दै नेपाल, आयात प्रतिबन्धले फाइदा

नेपालमा १७८ हेक्टर जमिनमा व्यावसायिक फूलखेती हुने गरेको छ । हाल ४४ जिल्लामा व्यावसायिक फूलखेती भइरहेको फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)ले जनाएको छ । यस वर्षको भाइटीकामा १४ करोड मूल्य बराबरको २४ लाख माला खपत हुने अनुमान छ ।

यस वर्ष सरकारले तिहारमा फूल र माला आयातमा रोक लगाएको छ । जसले गर्दा पुष्प व्यवसायी, किसान तथा उपभोक्तालाइ राहत हुने भएको छ । माला एकपटक प्रयोग हुने वस्तु हो ।

‘किसानले तिहारमा माला बिक्री गर्ने उद्देश्यले पुष्पखेती गरेका हुन्छन् । तर उपभोक्ताले प्लाष्टिकका माला प्रयोग गरेपछि आम किसान मर्कामा पर्ने भएकाले प्लाष्टिकका माला उपभोग नगर्न आग्रह गरेका हौं,’ फ्यानका महासचिव विश्वमणि पोखरेलले भने ।

प्रायः तिहारमा सयपत्री, मखमली र गोदावरी फूलको खपत हुने गरेको छ । नेपालमा फूल तथा फूलजन्य सामग्री छिमेकी मुलुक भारतबाट आयात हुने गरको थियो । गत वर्ष नेपालले ११ करोडको फूल आयात गरेको थियो ।

भारतबाट झन्डै तीन लाख वटा माला आयात भएको थियो । तर यस वर्ष फूलको उत्पादन बढेको हुँदा आयात आवश्यक नपर्ने फ्यानले बताएको छ । नेपालमा व्यावसायिक फूलखेती सुरुआत भएको २५ वर्ष पुगिसकेको छ ।

२०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा सुरु भएको फूल व्यवसायबाट २०७९–०८० सम्म आइपुग्दा ४२ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा पुष्प व्यवसायको भविष्य उज्ज्वल रहे पनि नीतिगत समस्याका कारण अपेक्षा अनुसार व्यावसायिक फूलखेतीमा लगानी बढ्न नसकेको बताउँछन् ।

नेपालको भौगोलिक विविधताका कारण संसारमा पाइने जुनसुकै फूल तथा वनस्पति खेती गरेर निर्यातसमेत गर्न सकिने प्रचुर सम्भावना छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक क्षेत्रमा फूलको महत्व रहिआएको छ ।

फूलले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने सम्भावना छ । सयपत्री फूलखेती गर्न उर्वर जमिनको आवश्यकता पर्दैन । भिरालो तथा खेतबारीका आली तथा कान्ला, आँगनका डिल, गमला एवं घरघरका कौशीमा फूलखेती गर्न सकिन्छ ।

नेदरल्याण्ड विश्मा धेरै फूल निर्यात गर्ने देशमा पर्छ । नेपालले फूल निर्यात गर्नसक्ने सम्भावना रहेको एशोसिएसनका पूर्वध्यक्ष कुमार कसजुले जानकारी दिए । फूल पवित्र वस्तु भएकाले नेपालमा जन्मदेखि मृत्युसम्म उपभोग हुँदै आएको छ ।

यसको आवश्यकता सबै जातजाति र धर्म, संस्कृतिमा बराबरी छ । सरकारी लगानी खाद्यबालीमा केन्द्रित भएका कारण पुष्प क्षेत्रमा अपेक्षाअनुसार लगानी हुन नसकेको कृषि विभागका उपमहानिर्देशक डा.हरिबहादुर केसीले बताए ।

वनस्पति विभागका महानिर्देशक डा. राधा काफ्लेले नेपालमा वर्षैभरि फूलिरहने गोदावरी फूलको विकास गरेको भन्दै यसको प्रवद्र्धनका लागि विभागले फ्यानसँग सहकार्य गर्दै आएको जानकारी दिए ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले संघीयता लागू भएसँगै पुष्प क्षेत्र हेर्ने केन्द्रीय निकाय नै नभएको गुनासो गरे । उनले पुष्प क्षेत्रको प्रवद्र्धनका लागि सरकारले पुष्प प्रवद्र्धन नीतिको पुनर्लेखन गर्नुपर्ने बताए ।

पुष्प प्रवद्र्धन नीति अहिलेसम्म कार्यान्वयनमा आएको छैन । नीतिको समयसापेक्ष परिवर्तन आवश्यक छ । नेपालमा पुष्पखेतीका लागि हालसम्म ‘हाइब्रिड’ बीउ र ‘टिस्यू कल्चर’ बिरुवा उत्पादन प्रविधि नभएका कारण फूलको मागअनुसार उत्पादन हुन नसकेकाले बेलाबखतमा आयात गर्नुपरेको हो ।

 

– रासस

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार १३:५२