सूचनाको शक्ति - The Power Of Information

        

चार हजार सुरक्षाकर्मीको निगरानीमा ‘कर्णाली’ !

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ।

कर्णाली प्रदेशको ‘निगरानी’मा चार हजार सुरक्षाकर्मी खटिएका छन् । कर्णाली प्रदेश प्रहरीले चाडपर्व सुरक्षा योजना कार्यान्वयन अन्तरगत प्रदेशभर निगरानीका लागि चार हजार सुरक्षाकर्मी खटाएको छ ।

तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर प्रदेशका १० जिल्लामा ११ प्रकारका चाडपर्व सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर प्रहरी परिचालन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चाडपर्वमा निगरानीका लागि प्रदेशभर चार हजार १४१ जना प्रहरी परिचालन गरेको छ । चाडपर्व अवधिभर प्रदेशभर तत्काल प्रतिक्रिया टिम (क्यूआरटी) परिचालन १२५ वटा र २६५ स्थानमा मोबाइल तथा पैदल गस्तीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै ३१ स्थानमा नियमित चेकपोष्ट, ५३ स्थानमा ट्राफिकसहित संयुक्त चेकिङ्ग, झैझगडा, जुवा तास,चोरी लुटपाट, मापसे नियन्त्रण ८६ स्थानमा, आर्थिक कारोबार हुने स्थान, धार्मिक तथा पर्यटक स्थलहरुको सुरक्षा तथा बजार अनुगमन ७५ स्थानमा, १० स्थानमा ‘कर्डन सर्च एण्ड एम्बुस’ अप्रेसन, ९ स्थानमा विशेष चेकिङ्गका लागि टोली खटाइएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार ९२ स्थानमा लामो दुरीको सवारी चेकिङ्ग, २६ स्थानमा नागरिक सहायता कक्ष १८ स्थानमा चोरी तस्करी नियन्त्रण, लागुऔषध कारोबार लगायतका अवैध गतिविधि नियन्त्रणका लागि चेकिङ्गका साथै आवश्यकता अनुसार आकस्मिक चेकिङ्गका लागि पनि टोली परिचालन गरिएको छ ।

साथै पटका तथा विस्फोटक पदार्थको आयात, विक्री वितरण तथा प्रयोगमा कडाई गरिएको प्रवक्ता श्रेष्ठले बताए । ‘कर्णाली प्रदेशका १० वटै जिल्लाका प्रमुखमार्फत मातहतका सबै कार्यालयबाट चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘चाडपर्वलाई लक्षित गरेर सुरक्षा व्यवस्थालाई निगरानीमा राख्नै कडा बनाएका छौं ।’

उनका अनुसार तस्करी तथा लागूऔषध नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित चेकजाँच भइरहेको छ । सवारी साधनमा यात्रुसँग बढी भाडा असुल गर्ने, दुव्र्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने तथा ट्राफिक नियम उलङ्घन गर्ने सवारी साधनलाई कारवाहीको दायरामा प्रहरीले ल्याएको छ ।

चाडपर्वका बेला घर, बस्ने कोठा छाडेर अन्यत्र जाँदा चोरी हुने सम्भावना विगतका वर्षमा बढी हुने भएकाले घर कोठा छाडी अन्यत्र जाँदा प्रहरीलाई जानकारी गराउन तथा चोरीको घटना नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम समेत प्रहरीले गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार १३:१३