तिहार नजिकिएसँगै सयपत्री फूलको माग बढ्न थालेको छ । व्यावसायिक उत्पादन अति न्यून र यसपटक स्थानीयस्तरमा फूल कम फुलेकाले सयपत्रीको माग धेरै बढेको व्यावसायी बताउँछन् ।
रामपुर नगरपालिका–४ देवीस्थानका युवा व्यवसायी दिलबहादुर थापालाई यतिबेला फूलमाला बिक्री गर्ने चटारो छ । तीन वर्षदेखि यस व्यवसाय थालनी गरेका थापाले अहिले तिहारलक्षित करिब साढे तीन रोपनी जग्गामा सयपत्री फूलखेती गरेका छन् ।
‘तिहारको चहलपहल सुरु हुन थालेपछि फूल खरिद गर्ने ग्राहकको घुइँचो बढेको छ, स्थानीयस्तरमै माग धेरै आएकाले बाहिर पठाएको छैन, फूल टिप्ने, माला तयार पारेर बिक्री गर्न भ्याइनभ्याई छ,’ उनले भने ।
नेपालगन्ज, बुटवल, तानसेन, पोखरा लगायत विभिन्न ठाउँबाट माग धेरै आए पनि स्थानीयलाई पहिलो प्राथमिकता दिने उनले बताए । यसपटक तिहारमा मात्रै करिब रु.दुई लाख ५० हजार बराबरको फूल बिक्री गर्ने उनको अनुमान छ ।
प्रतिमाला रु.१००, प्रतिकिलो फूल रु.५०० मा धमाधम घरबाटै बिक्री भइरहेको छ । पछिल्लो समय विभिन्न सङ्घसंस्था, विद्यालयमा दीपावलीको शुभकामना आदानप्रदान जस्ता कार्यक्रम गर्ने लहरले तिहार सुरु हुनु अघिदेखि नै फूलमाला खरिद गर्ने ग्राहक बढेका छन् ।
गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा मात्रै करिब रु.एक लाख ५० हजार बराबरको फूल बिक्री गरे भने सङ्घ र प्रदेश तहको निर्वाचनको उम्मेदवारी दर्ता, प्रचारप्रसार तथा स्थानीयस्तरमा हुने विभिन्न कार्यक्रममा गरी दसैँयता मात्रै करिब रु.५० हजार बराबरको फूलमाला बिक्री गरेको उनी बताउँछन् ।
‘फूलखेती सुरु गरेपछि मेरो पहिचान नै फेरिएको छ, पहिला घरपरिवार, आफन्तबाहेक कसैले चिन्दैनथे,’ उनले भने, ‘करिब एक दशक विदेश बसेर गाउँ फर्केरलगत्तै फूलखेती गरेपछि सबैले राम्रोसँग चिन्नुहुन्छ, समाजमा नाम र दाम दुवै पाएपछि धेरै सन्तुष्टि छु ।’
फूलको उत्पादन र बिक्री उत्साहजनक रहेकाले व्यावसायमा थप हौसला मिलेको छ । दिलबहादुरलाई यस व्यवसायमा श्रीमती सुकमाया थापाले सघाउँदै आएकी छन् । घर अगाडिको खेतभरि पहेँलै फुलेका फूलको दृश्यले घरको वातावरणमा सौन्दर्य थपेको बताउँछिन्, सुकमाया थापा ।
गाउँघरमा पछिल्लो समय सयपत्री फूल कमै पाइन्छ । स्थानीय जातका फूल मासिने क्रम बढेको छ । हाइब्रिड जातको फूल आउन थालेपछि घरका आँगन, डिल, करेसाबारीमा फुल्ने फूल हिजोआज खासै देखिँदैन । सयपत्री खेतीका अलवा लोपोन्मुख मखमली फूलको खेती गर्ने दिलबहादुरले योजना बनाएका छन् ।
यसै वर्ष मखमली लगाउने सोच बनाए पनि बीउ समयमा उपलब्ध नहुँदा सयपत्रीमात्रै लगाएका छन् । यहाँ ढकमक्क फुलेका फूलले सबैको मन लोभ्याएको छ । टिकटक बनाउने, फोटो खिच्ने, भिडियो बनाएर सामाजिक सञ्जालमा राख्न बालबालिकादेखि युवायुवती, वयस्क उमेरसम्मका पुग्ने गर्दछन् ।
गत भदौमा धुलिखेमा दुई दिन र तीन वर्षअघि बुटवलमा एकहप्ते पुष्प व्यवसाय सम्बन्धी तालिम लिएका छन् । सो तालिमले व्यवसायमा धेरै सहज भएको उनले बताए । फूल उत्पादन, गुणस्तर निकाल्ने तरिका, बजारीकरण, नयाँ प्रजातिका उत्पादन लगायतका सम्बन्धमा ज्ञान, सीप पाएपछि नयाँ ढङ्गबाट खेती गरेका छन् ।
करिब १५ मुरी धानबाली फल्ने जग्गामा फूल लगाउन थालेपछि तेब्बर बढी आयस्रोत भित्रिएको छ । फूलखेतीबाट आफू मात्र नभई पाल्पा जिल्लालाई नै चिनाउने उनको सपना छ । एक वर्षमा तीन पटकसम्म यसको खेती गर्न सकिन्छ ।
रासस । रामपुर (पाल्पा)