आठ वर्षमा निर्माण सम्पन्न गर्ने गरी सुरु गरिएको सिक्टा सिँचाइ आयोजना १७ वर्ष बित्दा पनि अझै अधुरै छ । आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा बजेट र समय अवधि पनि थप हुँदै गएको छ । २०७० सालको माघ मसान्तसम्म निर्माण कार्य पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको उक्त आयोजनाको निर्माण कार्य गत आर्थिक वर्षसम्ममा ७२ प्रतिशत पुरा भएको आयोजनाले जनाएको छ ।
तर, हाल गुरुयोजना संशोधन गरी २५ अर्ब नौ करोडको लागतमा आर्थिक वर्ष २०८४–०८५ मा पूरा गर्ने लक्ष्यलाई ५२ अर्ब ८९ करोडको लागत बनाई सम्पन्न गर्ने अवधि थप गरेर २०८९–०९० पुर्याएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर विशाल यादवले बताए । उनले आयोजनाको पहिलो फेजको काम पूरा भएर दोस्रो फेजको काम सुरु हुँदा बजेट र अवधि दुवै थप भएकोले प्रतिशतमा पनि फरक पर्ने बताए ।
इन्जिनियर यादवका अनुसार सुरुमा १२ अर्ब ७० करोड लागतमा ८ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पछि क्षेत्रसमेत विस्तार गरिँदै गएपछि गुरुयोजना परिमार्जन गरी २५ अर्ब ९ करोडको लागतमा आर्थिक वर्ष २०८४–०८५ मा पूरा गर्ने लक्ष्य तय गरिएको थियो । तर, हाल आएर सो समयमा पनि पूरा नहुने निष्कर्षका साथ समय र बजेट थप गरेर २०८९–०९० मा पुरा गर्ने गुरुयोजना संशोधन गरिएको छ ।
सिक्टाको पूर्वी मूल नहर
आर्थिक वर्ष २०७९–०८० सम्म आइपुग्दा १९ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेर आयोजनाको निर्माण कार्य ७२ प्रतिशत सकिएको छ । पछिल्ला वर्षहरूमा बर्सेनि डेढ अर्बभन्दा बढी बजेट विनियोजन हुने र विनियोजित बजेट पनि खर्च गर्न नसक्ने अवस्थाले आयोजनाको लागत र समय दुवै बढ्दै जाँदा लक्षित किसानले आवश्यक सिँचाइ सुविधा पाउन सकेका छैनन् ।
गत आर्थिक वर्ष २०७८–०७९ मा पनि सिक्टाका लागि विनियोजन भएको एक अर्ब १९ करोड ३७ लाख बजेटमध्ये काम हुन नसक्दा २६ करोड ५८ लाख रुपैयाँ फ्रिज भएको थियो । कछुवा गतिमा अघि बढिरहेको नहर निर्माणको काम लक्ष्य अनुसार हुन नसक्दा लगानी बढ्दै गएर एकातिर देशले ठूलो आर्थिक भार खेप्नुपरेको र अर्कोतिर लामो समयदेखि सिंचाइको आसमा बसेका किसानले निराशा भोग्नुपर्ने विडम्बना छ ।
निर्माण सम्पन्न गर्न लाग्ने समय र लागत खर्च बढाइए पनि नहर निर्माणको कामले अझै गति लिन सकेको छैन । चालु आर्थिक वर्ष २०७९–०८० मा आयोजनाले पुँजीगततर्फ एक अर्ब ८५ करोड बजेट पाएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । १६ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ निर्माण कार्य सुरु भएको डुडुवा शाखा नहरको निर्माण कार्य चार वर्षदेखि अलपत्र छ ।
सिक्टा सिँचाइ आयोजना र निर्माण कम्पनी कोष्टल पप्पु जेभीबीचको विवाद र मुद्दा मामिलाका कारण चार वर्षदेखि अलपत्र रहेको छ । जसका कारण सिक्टा सिँचाइ आयोजना अन्तरगत डुडुवा शाखा नहरको कमाण्ड क्षेत्रमा पर्ने बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिकासहित डुडुवा, जानकी र खजुरा गाउँपालिकाका हजारौं किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।
सत्यपाटी संवाददाता । बाँके