सूचनाको शक्ति - The Power Of Information

        

चीनमा राष्ट्रपति सी चिनफिङ तेस्रो कार्यकाल

चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को सम्मेलनले चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि सी चिनफिङलाई निर्वाचित गरेको छ ।

सम्मेलनले अनुमोदन गरेसँगै चीनका सर्वोच्च नेता (प्यारामाउन्ट लिडर) सी चिनफिङले कम्युनिस्ट पार्टीको महासचिवका रूपमा अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेका छन् । तर, पार्टीमा उनीपछिको वरीयतामा रहेका प्रधानमन्त्री ली खछ्याङ र सल्लाहकार सभाका अध्यक्ष वाङ याङ दुवैले अवकाश पाएका छन् ।

एक सातासम्म चलेको सीपीसीको महाधिवेशन शनिबार समापनपछि सरकारी समाचार संस्था सिन्ह्वाले नयाँ केन्द्रीय समितिका नेताहरूको नाम सार्वजनिक गरेको छ ।

२०२३ मार्चमा उनको कार्यकाल सकिँदै छ । ६९ बर्से सी फेरि राष्ट्रपति भएसँगै संस्थापक नेता माओत्से तुङपछिका सबैभन्दा शक्तिशाली नेता बनेका छन् । उनी केन्द्रीय सैन्य आयोगका अध्यक्ष पनि हुन् । सम्मेलनले सीलाई ‘ग्रेट लिडर’को उपाधि पनि दिएको छ ।

यसअघि यो उपाधि माओले पाएका थिए, जसले चीनमा २५ वर्ष शासन गरेका थिए । सन् २०१२ मा सीपीसीको महासचिव भएका सी २०१३ मा पहिलोपल्ट चीनका राष्ट्रपति बनेका थिए ।

त्यो बेला दुई कार्यकाल राष्ट्रपति बनेका हु जिन्ताओको ठाउँ सीले लिएका छन् । हाल पुनः सम्मेलनबाट महासचिवमा निर्वाचित भएसँगै तेस्रो पटक राष्ट्रपतिमा चुनिएका छन् ।

१५ जुन १९५३ मा राजधानी पेइचिङनजिकैको एक गाउँमा जन्मेका सीले लामो समयसम्म शक्ति सञ्चय यात्रा सुरु गरेका छन् । उनले कम्युनिस्ट पार्टीलाई नयाँ रूप मात्रै दिएनन्, रूपान्तरणसमेत गरेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार ०८:१४