सूचनाको शक्ति - The Power Of Information

        

लिखित प्रतिबद्धता बिना मतदाता फकाउँदै उम्मेदवारहरू

मंसिर ४ गते आउन चार हप्ता मात्रै बाँकी रहँदासम्म राजनीतिक दल र तीनका उम्मेदवारहरूले आफ्ना एजेन्डासहितका लिखित प्रतिबद्धता जनतामाझ पुर्याउन सकेका छैनन् ।

दुवै गठबन्धनमा सामेल ठूला भनिएका राजनीतिक दलहरूले अझै आफ्ना एजेन्डासहितको घोषणापत्र मतदातामाझ पुर्याउन नसकेका हुन् । ठूला राजनीतिक दलहरूले नै समयमा आफ्नो पार्टीको घोषणापत्र बनाउन नसक्दा उम्मेदवारहरू मतदातामाझ एजेन्डाविहीन बनेका हुन् ।

स्थानीय स्तरमा भए गरेका र चुनावपछि गर्ने कामहरूका बारेमा जनतालाई मौखिक रूपमा बुझाउने गरे पनि पार्टी लिखित दस्तावेज नभएपछि आफ्ना एजेन्डाहरू प्रभावकारी हुन सकेका छैनन् ।

अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) जनता समाजवादी पार्टी, राप्रपालगायत दलहरूले नै चुनावी अभियानमा जनतालाई देखाउने लिखित प्रतिबद्धतापत्र तयार पार्न भ्याएका छैनन् ।

नेपाली कांग्रेसले प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र लेखनको कार्य अन्तिम चरणमा पुर्याएको बताए पनि सार्वजनिक गरेका छैन् ।

घोषणापत्र लेखनका लागि गठित समितिले तयार पारेको ड्राफ्ट केन्द्रीय कार्यसम्पादन समितिमा पेस भएको थियो । समितिको शुक्रबारको बैठकले केन्द्रीय सदस्यहरूको सुझावसमेत समेट्दै ड्राफ्ट पारित गरेको थियो ।

समितिले शनिबार साँझसम्म केन्द्रीय सदस्यहरूलाई घोषणापत्रका लागि सुझाव दिने समय पनि तोकेको थियो । कांग्रेसको घोषणापत्र समितिका प्रवक्ता तथा सहमहामन्त्री जीवन परियारले अबको १-२ दिनमा घोषणापत्र लेख्ने काम सकिने बताउनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतवार ०७:४६