सूचनाको शक्ति - The Power Of Information

        

खेलकूद–आलेख

अल्ट्रा म्याराथनबाट उदाएका स्वर्ण पदकधारी ‘कर्णालीका दुर्गा’

‘धेरै प्रतिभाको जीवनमा आर्थिक पक्ष तगारो बन्दा खेलबाट सन्यास लिएका छन् । गाउँगाउँमा राम्राराम्रा प्रतिभा छन्, भविष्य सुनिश्चित नहुँदा उनीहरु खेल जीवन त्याग्न बाध्य छन् ।’

सन् २०१० मा बङ्गलादेशको ढाकामा हुन लागेको ११औँ दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपालले तयारी गर्दै थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जुम्लामा रहेका दुर्गाबहादुर बुढालाई बन्द प्रशिक्षणका लागि काठमाडौँ आउन खबर पठायो । बन्द प्रशिक्षण अवधिभर खेलाडीको खान बस्ने खर्च राखेपले ब्यहोर्ने भयो । तर जुम्लादेखि काठमाडौँ पुग्न बुढा आफैँलै खर्चको जोहो गर्नुपथ्र्यो ।

थौरै खर्चले नपुग्ने भयो । जुम्ला काठमाडौँ ओहरदोहर गर्न झण्डै रु ५० हजारभन्दा बढी खर्च लाग्थ्यो । बुढाले त्यसका लागि हिम्मत गर्न सकेनन् । उनको परिवार खेती किसानीमै निर्भर थियो । अन्ततः खर्चको जोहो गर्न नसकेपछि बुढाले ११ औँ सागको बन्द प्रशिक्षण मन मानेर त्यागे । यो १२ वर्षअघिको कुरा थियो । त्यतिबेला जुम्ला काठमाडौँ बसको सुविधा थिएन । जहाजमै यात्रा गर्नुपर्दथ्यो । जहाज भाडा तिर्न बुढाका लागि सम्भव थिएन ।

विसं २०६५ मा काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय खेलकुदमा बुढा पाँच हजार मिटर र १० हजार मिटर दौडमा तेस्रो भएका थिए । यसबाट उनको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न ढोका खुलेको थियो । ‘मेरा लागि त्यो ठूलो अवसर थियो, कुनै न कुनै पदक देशका लागि जित्थे, ममा आत्मविश्वास थियो,’ बुढा विगत सम्झिन्छन्, ‘आर्थिक अवस्था निकै कमजोर थियो, अवसर पाएर मन मार्नु पर्यो ।’

सागमा सहभागी हुन् उनी प्रारम्भिक छनोटमाा परेका थिए । त्यतिबेला जुम्लाबाट सुर्खेतम्मको जहाज भाडा रु सात हजार तथा सुर्खेतदेखि काठमाडौंको रु १३ हजार थियो । यो उनका लागि असम्भव थियो । खेती किसानीबाट यतिधेरै आम्दानी गर्नसक्ने उपाय थिएन । ‘धेरैतिर रकमको जोहो गर्न हार गुहार गरे, कोही दाता भेटिएनन्,’ बुढाले त्यतिबेलाको पीडा सुनाए ।

मुश्किलले साग खेल्न प्राप्त भएको अवसर हातबाट निस्केपछि दुर्गाबहादुर एकदमै निराश बने । उनी खेल जीवन त्याग्ने मनस्थिति बनाएर जुम्लाको कन्कासुन्दरी गाउँपालिका ३ स्थित घरमा बसे । ‘अब खेलमा कहिल्यै फर्किन्न जस्तो लागेको थियो,’ बुढाले भने । तर एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकाया भने बुढालाई त्यसरी हिम्मत हारेर बस्न दिनेवाला थिएनन् । किनकि उनले बुढाको क्षमता चिनेका थिए । एउटा प्रतिभा जन्माउन कति मुश्किल हुन्छ त्यो प्रशिक्षक रोकायालाई थाहा थियो ।

रोकायाले बुढाको ध्यान अल्ट्रा म्याराथनतर्फ मोडे । प्रशिक्षक रोकायालाई पनि उनको खेल जीवनमा अल्ट्रा म्याराथनका लागि प्रस्ताव पटकपटक आएको थियो । रोकायाले आफ्ना चेला बुढालाई अब त्यतैतर्फ केन्द्रित गर्न लगाए । सन् २००९ मा सोलुखुम्बुमा तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन हुने भयो । प्रशिक्षक रोकायाले यो खबर थाहा पाए । उनले बुढालाई त्यसका लागि तयार पारे । प्रतियोगिता खर्चिलो थियो । रु.एक लाख ६० हजार एक्लैले जुटाएर बुढालाई लिएर रोकाया अल्ट्रा म्याराथनमा भाग लिन सोलुतर्फ लागे ।

उक्त प्रतियोगितामा विदेशी नागरिकसहित १६४ जनाले भाग लिएका थिए । बुढाले सातौँ स्थान ल्याए । नेपालकै फुर्वा तामा पहिलो भए । यसबाट बुढा र प्रशिक्षक रोकाया उत्साहित भए । रोकायाले बुढाबाट गरेको आशा निराशामा परिणत भएन । दुवै जना उच्च मनोबलका साथ जुम्ला फर्किए । लगत्तै राखेपले सहायक प्रशिक्षकका लागि तालिम खुलायो । बुढा पनि त्यसमा सहभागी भए । ‘म त्यतिबेला छ महिना काठमाडौँमै बसे,’ उनले भने । पन्ध्र वर्षपछि राखेपले उक्त तालिम खुलाएको थियो । ‘तालिम लिनेमा म सबैभन्दा कम उमेरको थिए,’ उनले भने ।

तर बुढालाई के थाहा तालिम लिँदैमा नेपालमा खेल प्रशिक्षकको जागिर सहजै पाइन्न भनेर । प्रशिक्षकका लागि तालिम खुल्छ, तर अवसर नपाइने देशको सधैँको समस्या थियो । स्थिति अहिले पनि त्यस्तै छ । अवस्था फेरिएको छैन । उनी भारी मन बनाएर जुम्ला नै फर्किए । अब भने बुढालाई खर्च जुटाउन धौधौ पर्न थाल्यो । उनलाई जागिर खुवाउन रोकायाले पनि सक्दो पहल गरे । खासमा रोकाया आफ्नो चेला खेल क्षेत्रबाट पलायन भएको हेर्न चाहन्नथे । प्रशिक्षक रोकायाको मनमा नयाँ जुक्ति आयो । उनले बुढालाई लिएर भारतको बनारसतर्फ लागे ।

‘भारतीय सेनामा भर्नाका लागि छनोटको आधार त्यही अल्ट्रा म्याराथनकै प्रमाणपत्र बन्योे, ती प्रमाणपत्र देख्ने बित्तिक्कै भारतीय सैनिक अधिकारी भर्ना लिन तयार भए,’ उनले भने । पहिलो पटकमै बुढा भर्ना हुन सफल भए । यो सन् २०११ को कुरो थियो । छनोटका बखत उनलाई दौडाइयो । दुई हजार ४०० मिटर दौड बुढाले चार मिनेट ३७ सकेण्डमा पूरा गरे । यसबाट त्यहाँ छनोट समितिका सैनिक अधिकारी बुढाबाट प्रसन्न भए । ‘खासमा डिउटी केही हुन्न । जताजता खेल प्रतियोगिता त्यतैत्यतै गएर खेल्नुपर्ने मात्र हुन्छ,’ बुढाले सुनाए ।

उनले हालसम्म यही गर्दै आएका छन् । बुढाजस्तै भर्ना भएका भारतीय सेनामा धेरै नेपाली छन् । खेलको कदर गर्दै उनीहरूलाई भर्ना लिने गरिएको छ । भारतीय सेनाको जागिरले बुढा आर्थिकरुपमा सबल भए । खासमा खेल खेल्ने खेलाडीका लागि आर्थिक अवस्था चुनौतीपूर्ण बनेको छ । ‘धेरै प्रतिभाको जीवनमा आर्थिक पक्ष तगारो बन्दा खेलबाट सन्यास लिएका छन्,’ उनी भन्छन्, ‘गाउँगाउँमा राम्राराम्रा प्रतिभा छन्, भविष्य सुनिश्चित नहुँदा उनीहरु खेल जीवन त्याग्न बाध्य छन् ।’

बुढाले बिदामा बसेको समयमा मात्र नेपालमा प्रतियोगिता खेल्ने गरेका छन् । ‘सकेसम्म नेपालमा हुने कुनै पनि प्रतियोगिता छुटाउँदिन,’ उनले भने । भारतीय सेनामा भर्नापछि २०७२ सालमा उनले बाँकेको नेपालगन्जमा तेस्रो धारा म्याराथन खेले । यो उनको नेपालमा खेलेको पहिलो म्याराथन थियो । निर्धारित दूरी दुई घण्टा २६ सेकेण्डमा पूरा गर्दै उनी पहिलो भए । लगत्तै झापामा भएको १५ हजार मिटर दौडमा पनि उनी पहिलो भए । धनगढीमा भएका जेसिज म्याराथनमा त बुढा चार पटक पहिलो भएका छन् ।

बुढाले चार वर्षअघि नेपालगन्जमा सम्पन्न आठौँ राष्ट्रिय खेलकुदमा कर्णालीको प्रतिनिधित्व गर्दै १० हजार मिटर दौडमा भाग लिए । उनले स्वर्णपदक जिते । पाँच हजार मिटर दौड र म्याराथनमा उनले रजत पदक प्राप्त गरे । ‘लगातार दौडिनुपर्दा पाँच हजार मिटर दौड र म्याराथनमा सोचेजस्तो परिणाम ल्याउन सकिएन,’ उनले भने । आठौँ राष्ट्रिय खेलकुदमा पनि कर्णालीले दुई वटा मात्र स्वर्ण जितको थियो । त्यतिबेला कर्णालीले तीन रजत जितेको थियो । जसमा बुढाका नाममा एउटा स्वर्ण र दुई वटा रजत थियो ।

यसपटक गण्डकीमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि बुढाले एउटा स्वर्ण र एउटा रजत पदक प्राप्त गरे । उनी कर्णाली प्रदेश स्तरीय प्रतियोगितामा पहिलो हुँदै पोखरा आएका थिए । तीन हजार मिटर दौडमा उनले स्वर्ण जिते । पाँच हजार मिटर दौडमा भने बुढा सेकेण्डले मात्र स्वर्ण पदकबाट चुके । कर्णालीका दुई खेलाडीले मात्र यसपाली स्वर्ण पदक जितेका छन् । पुरुषतर्फ उसुको नान छ्वान राउण्डमा कर्णालीका लागि दीपक हमालले स्वर्ण पदक जितेका छन् ।

बुढाले एथ्लेटिक्सको तीन हजार मिटर स्टेपल चेजमा स्वर्ण जित्दा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्लबले विरोध गरे । बुढा भारतीय सेनाको जागिरे भएको र भारतमा समेत प्रतियोगिता खेल्दै आएकाले नेपालमा खेल्न नपाउने भन्दै तीनवटै क्लबले विरोध गर्दै उजुरी हाले । बुढाले भारतीय टोलीको नेतृत्व गर्दै एशियन च्याम्पियनसिप खेलेका थिए । यही कारण देखाउँदै विभागीय टोली बुढालाई यसपाली खेल्नबाट रोक्ने प्रयासमा थिए । विरोधका बाबजुद मैदानमा उत्रिएका उनले विभागीय खेलाडीलाई उछिने ।

बुढाले कीर्तिमानी स्वर्णपदक जिते । उनले एपिएफका अजित यादव र आर्मी क्लबका सुवास कार्कीलाई पछि पारे । बुढाले उक्त दौड आठ मिनेट ५५ दशमलव १९ सकेण्डमा पूरा गरेका थिए । यस्तै एपिएफका यादवले सो दौड नौ मिनेट २१ दशमलव १० सेकेण्ड तथा आर्मीका कार्कीले नौ मिनेट २२ दशमलव १५ सकेण्डमा पूरा गरे । बुढाले १८ वर्षअघि धावक राजेन्द्र भण्डारीले बनाएको ८ मिनेट ५७ दशमलव ३० सेकेन्डको कीर्तिमान तोडेका हुन् । भण्डारीले सन् २००४ मा पाकिस्तानको इस्लामवादमा उक्त कीर्तिमान बनाएका थिए ।

‘लामो समयदेखि देशका लागि खेल्दै आएको छु । यसपाली मेरो सहभागितालाई लिएर किन यतिसारो विरोध भयो, बुझ्न सकिरहेको छैन,’ बुढाले भने, ‘म जता भए पनि आवश्यक पर्दा मेरो प्रदेश र देशका लागि खेल्दै आएको छु । देशका लागि जस्तोसुकै त्याग गर्न पनि तयार छु । मेरा लागि विदेशमा गएर जागिर खानु बाध्यता हो । मैले वर्षौं आफ्नै देशमा रोजगारीका लागि प्रयास गरे । निकै तड्पिए । खेल जीवन नै त्याग्ने अवस्थामा पुगे ।’

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १७:१०