सूचनाको शक्ति - The Power Of Information

        

ब्राउनसुगरसहित सुर्खेतमा पाँच जना पक्राउ

फाइल तस्वीर

सुर्खेत जिल्ला प्रहरी कार्यालयले लागुऔषध (ब्राउनसुगर)सहित पाँच जनालाई पक्राउ गरेको छ ।

सुर्खेतको मुख्य नाका सुब्बा कुनाबाट गाडी चालक वीरेन्द्रनगर नगरपालिका ११ निवासी ३० वर्षीय गङ्गे सुनार, ३९ वर्षीय दीपक ढकाल, ३० वर्षीय नवीन वक्स र डुङ्गेश्वर गाउँपालिका–३ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१०मा बस्दै आएका १७ वर्षीय लोचन रावललाई दुई पुरिया ब्राउनसुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएराति २३ः४५ बजे नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको बा १७ च ७९६९ नम्बरको स्कार्पियो गाडीलाई वीरेन्दगनगरको प्रवेशद्वार सुब्बा कुनामा जाँच गर्दा चालकको सिट पछाडि सिट कभरको खल्तीमा नापतौल नभएको दुई पुरिया ब्राउनसुगरसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार अनुसार भारतको बहराइच नानपरा घर भई हाल जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गण्डकी लाइन बस्ने २६ वर्षीय लियाकत अलीलाई पनि तीन ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएकोे छ ।

भेरीगङ्गा नगरपालिका–१२ सुर्खेतमा चेकिङमा खटिएका टोलीले कर्णालीबाट सुर्खेततर्फ आउँदै गरेको बा ५ च ३७७२ नम्बरको फोर्स गाडीमा जाँचका क्रममामा अलीलाई पक्राउ गरेको थियो । पक्राउ गरिएका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १६:४१