सूचनाको शक्ति - The Power Of Information

        

टिप्पणी

चटकमै व्यस्त र मस्त ‘बालकोटे बा’

उहिले रत्नपार्कमा देखाइने चटक र बालकोटबाट मञ्चन हुने चटकमा भिन्नता छैन । रत्नपार्कबाट मुकुन्दे लखेटिए । त्यसरी नै बालुवाटारबाट बा ।

नेपाली समाज चटक र फन्डामा रम्छ ! ‘कथित बा निवास’ बालकोटले नेपाली समाजको त्यो मनोभाव राम्ररी बुझेको छ । त्यो मर्म राम्ररी छामेको छ । आजकाल बालकोट फन्डामा जुटेको छ । चटक देखाउन व्यस्त छ । उहिले रत्नपार्कमा देखाइने चटक र बालकोटबाट मञ्चन हुने चटकमा भिन्नता छैन ।

रत्नपार्कबाट मुकुन्दे लखेटिए । त्यसरी नै बालुवाटारबाट बा । बालुवाटारबाट बालकोट पुगेका बा सामाजिक सञ्चालबाट चटक देखाइरहेका छन् जसरी सञ्जालबाटै मुकुन्दे ‘मुकुन्दल्याण्ड’ अलाप्छन् । रत्नपार्कको कापेमा फुरेको ‘मुकुन्दल्याण्ड’ रोमाच्क छ, ‘पहाडमा रेल, मधेशमा खेतैखेत, ट्याक्टरले खेत जोत्ने, हेलिकप्टरले बीउ छर्ने र करोडौं जनतालाई सुखले पालेर ३६५ दिन नै दशैँ मनाउने ।’

बालकोट दरबारमा फुर्ने ‘समृद्ध स्वप्न’ उस्तै रोमाञ्चक छ, ‘समृद्ध नेपाल, सुखी नेपाली ।’ विडम्बना ! बालकोट दरबारमा फुर्ने समृद्ध स्वप्न ‘गफै त हो नि सम्धीज्यू’ जस्तै लाग्छन् । जसरी मुकुन्दल्याण्ड गफ हो । आमनिर्वाचन नजिकिएसँगै बालकोट दरबारमा मञ्चन हुने फन्डाहरुको संख्या बढेको छ । शुक्रबार बिहानै खाल्डोमा रहेको बालकोट दरबारबाट ‘तल्लो पिसाङ मनाङ’मा सूर्यको पहिलो किरण देखियो !

‘गुड मर्निङ फ्रम बालकोट’ लेखेर तल्लो पिसाङ मनाङको तस्बिर राखेर कसलाई मूर्ख बनाउन खोजेको होला ? आँखा मिच्दै फेसबुक हेर्न पुगेका मनुवाको दिनै खराब भो ! ‘गुड मर्निङ फ्रम बालकोट’ वाला चटकभन्दा सडकमा मान्छेको टाउको काटेर पनि जीवितै देखाउने चटक उत्कृष्ट लाग्छ । चटक पनि ढङ्ग पुर्याएर देखाए मनोरञ्जन नै हुन्थ्यो ।

बालकोटले रचेको ‘बासँग संवाद’ वाला चटक झनै रमाइलो । ‘बा’ले प्रत्यक्ष संवाद गर्ने भन्दै झ्याली पिटेर दुनियाँको नम्बर बटुलियो । केही थान नम्बर लेखेर टोकरीमा राखियो । चिठ्ठा तानेझै तानेर नाटकीय केहीसँग संवाद गरियो । बालकोट दरबाले ‘बासँग संवाद’ भन्दै सर्वसाधारणको मोबाइल नम्बर संकलन गरियो । निर्वाचनको मौन अवधि सुरु हुनै लाग्दा ‘बल्क एसएमएस’मार्फत भोट माग्न ‘बासँग संवाद’ भन्दै संकलन गरिएको नम्बर दुरुपयोग हुनेछ ।

बालकोटे ‘बा’लाई नेपाली समाजका समस्याहरू थाहा नभएका होइनन् । ‘बा मण्डली’लाई राम्ररी थाहा छ, नेपालीजनका पीडा व्यथा । सुझाव चाहिँ फोनबाट लिनुपर्ने ? ‘बा मण्डली’को सञ्जाल तल्लो तहसम्म छ । आफ्नै संरचनाबाट सुझाव लिए भैहाल्थ्यो । तर, बालकोटले चटक देखाउन छु, फान्डमा जनता भुलाउनु छ । बासँगको फोन संवाद त्यै त हो ।

बा मण्डली बेलाबेला देवत्वकरणमा रम्छ । बालकोट चियाउनेहरू कहिले ‘पिल्ली लाइभ’ देख्छन् त कहिले गोयवल्सको शैलीको प्रचार । केही दिन अगाडि ‘बा मण्डली’ लाँकुरी भञ्ज्याङ पुग्यो । लाँकुरी बसाइका देखाउन बाँकी ‘बा’को सौचकर्म मात्र थियो । ठूलै जिनिस आउन लाग्यो झै गरेर बा पिङ खेलेकोदेखि दुरबिनबाट हेरेको समेत सार्वजनिक गरियो । त्यो पनि किस्ता किस्तामा ।

लाँकुरी बसाइमा ‘बा’ले लेखेको ‘घोषणापत्र’ नामको चटक तिहारपछि पढ्न पाइन्छ रे ! विगतमा लेखिएका घोषणापत्र पनि चटक नै त भए । यसपटक के आशा गर्ने । लेखिने उही चटक नै त होला ! भनिन्छ, पुँजीवादीहरू उत्पादन नकाम भए पनि आवरण चिटिक्क बनाएर राम्रै व्यापार गर्छन् । व्यापारका लागि राम्रै विज्ञापन गर्छन् । आजकाल ‘बालकोटे बा’ले ठ्याक्कै सोही नीति अवलम्बन गरेका छन् ।

उखान छ नि, भुक्ने ‘ले टोक्दैन । यो उखानमा दम छ । काम गर्नेहरू प्रचार गर्दैनन् । काम नगर्नेहरू अनेक चटक देखाएर जनता भुलभुलैयामा पार्न खोज्छन् । आज बालकोट दरबार उहिले उहिले बनेको त्यो उखानको बिम्ब बनेको छ । बालकोटे बा र विवाहपछि बङ्गारा झार्ने प्रेमी उस्तै लाग्छन् ! श्रीमान हुनुपूर्व आकाशको तारा झर्ने प्रेमीले विवाहपछि बङ्गारा झर्छन् रे ! बालकोटे बाको पारा उस्तै !

बङ्गारा झार्ने प्रेमीझै विकास र समृद्धिको सपना देखाएर बालकोटे बाले प्रतिगमन रचे, दुईतिहाइको सरकार ढाले, इतिहासकै ठूलो कम्युनिष्ट पार्टी छिन्नभिन्न पारे ! बङ्गारा झार्ने प्रेमी र बालकेटे बामा शतप्रतिशत समानता देखिन्न र ? सडकमा चटक देखाउनेहरूसँग दर्शकको विश्वास छ । हेर्दाहेर्दै मान्छे मार्छ, हेर्दाहेर्दै मारेको मान्छेलाई जीवित बनाउँछ ! आखिर गरेको केही हुँदैन । आँखा छलेर दर्शकलाई आश्वस्त पारेका हुन्छन् ।

तर, बालकोटे बा र सडकका चटके एउटै होइनन् । मुकुन्दल्याण्ड र समृद्ध नेपाल, सुखी नेपाली एउटै होइन । मुकुन्देले जे बोले पनि हुन्छ । सडकका चटकेले जस्तै जादु देखाए पनि हुन्छ । छल गरेर दर्शकलाई हो न हो पारे पनि हुन्छ । तर, बालकोटे बालाई त्यो सुविधा छैन । बालकोटे बाले देखेको सपना देशको सपना बन्नुपर्छ । बालकोटे बाले बोलेको बोली देशको बोली बन्नुपर्छ ।

किनकी, बालकोटे बाको लक्ष्य र उद्देश्य सडकको चटकेको जस्तै होइन, छल गर्नु नै जसको अन्तिम सफलता हुन्छ । खास कुरा चाहिँ, सडकका चटके बोली र व्यवहारमा प्रतिवद्ध हुन्छ । धेर थोर जति नै दर्शक भए पनि दर्शकसँग गरेको बाचा पूरा गर्छ । पूरा गर्न नसके त्यो ठाउँबाट भाग्छ । तर, बालकोटे बा सडकको चटके जति पनि प्रतिवद्ध छैनन्, जवाफदेही छैनन् ।

अघिल्लो निर्वाचनअघि ‘बालकोटे बा’ले समृद्ध नेपाल बनाउने बाचा गरे । नेपाली जनताले विश्वास गरेर मतदान गरे । दुईतिहाइ नजिक मतको सरकार नेतृत्व गर्ने अवसर दिए । तर, बालकोटे बाले बाचा पूरा गरेनन् । विश्वासघात गरे । जनतालाई धोका दिए । बालकोटे बा सडकका चटके जति पनि इमानदार भएनन् । पाँच वर्षपछि सोही बा पुनः चटके अवतारमा देखिएका छन् । उस्तै सपना बाँडिरहेका छन् ।

उसैगरी जनताको मर्ममा प्रहार गरेर भोट पाउने युक्ति प्रयोग गर्दैछन् । उसैगरी भ्रमको खेती गरेर भकारी भर्ने खेलमा लागेका छन् । बालकोटे बा उसैगरी सपेरा भूमिकामा प्रस्तुत भएका छन् । सपेरा जसरी मुरली बजाएर सर्पलाई आफ्नो तालमा नचाउँछन् त्यसरी नै बालकोटे बा भ्रम छरेर जनता लठ्याउन खोजिरहेका छन् । ‘बालकोटे बा’लाई हेक्का हुनुपर्छ, छल गर्न नसक्दा सडकका चटके दर्शकबाट कुटिन्छन्, लखेटिन्छन् । सर्प लट्टिन छोडेका दिन सपेरालाई नै डसिन्छन् ।

 

 

– दृष्टि न्यूजबाट

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार १३:१३