सूचनाको शक्ति - The Power Of Information

        

विकासमा बेवास्ता

जग्गा विवादले १७ वर्षदेखि अधुरै ‘वीरेन्द्रनगर चक्रपथ’

चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ । निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्रे हुन बाँकी छ ।

‘वीरेन्द्रनगर चक्रपथ’ नाम दिएर १७ बर्षअघि निर्माण सुरु गरिएको सडक अहिलेसम्म अधुरै रहेको छ । वीरेन्द्रनगर उपत्यकालाई एउटै सडकले जोड्ने उद्देश्यले २०६२ सालबाट निर्माण सुरु गरिएको ‘वीरेन्द्रनगर चक्रपथ’को काम विवादका कारण अझै अधुरो छ ।

कर्णाली प्रदेशको राजधानी कायम भइसकदा समेत वीरेन्द्रनगर उपत्यकामा निर्माणाधीन चक्रपथ (रिङरोड) निर्माण कार्य सुरु भएको १७ बर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । १७ बर्षअघि सुब्बाकुनादेखि घुस्रा हुँदै दक्षिण भागबाट बाङ्गेसिमल जोड्न चक्रपथ निर्माणको सुरुवात गरिएको थियो ।

करिब २९ किलोमिटर लामो ‘वीरेन्द्रनगर चक्रपथ’को हालसम्म २२ किलोमिटरमा मात्रै काम भएको छ । चक्रपथअन्तर्गत व्यक्तिगत घर, जग्गा र संरक्षित वन क्षेत्र पर्ने हुँदा बेला बेला विवाद हुँदै आएको छ । अरू त अरू चक्रपथको सुरुको विन्दु सुब्बाकुनामै व्यक्तिको घरजग्गा परेका कारण सो ठाउँमा काम हुन सकेको छैन ।

चक्रपथअन्तर्गत संरक्षित वन क्षेत्र र व्यक्तिगत घरजग्गा परेकै कारण अझै ४० प्रतिशत काम हुन बाँकी छ । निर्माण भएको सडकमध्ये पनि करिब दुई किलोमिटर कालोपत्रे हुन बाँकी छ । वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १, २, ८ र १२ को क्षेत्रमा पनि व्यक्तिगत घर, जग्गा पर्ने हुदाँ विवाद सुल्झिन सकेको छैन ।

स्थानीयले उचित क्षतिपूर्तिको माग गर्दै लामो समयदेखि आयोजना निर्माणमा अवरोध गर्दै आएका छन् । ‘जनताका लागि विकास हो भने सही तरिकाले विकास हुनुपर्यो । विकासका नाममा उठिबास त लगाउनु भएन नि,’ वीरेन्द्रनगर–२ की अमृता कार्कीले भनिन्, ‘हामी जग्गा दिन्छौं, तर हामीलाई उठिबास लगाएर विकास गर्न खोज्दा समस्या भएको छ ।’

उनले क्षतिअनुसार सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने स्थानीयहरुको माग रहेको बताइन् । निर्माणाधिन चक्रपथ हेरिरहेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयले भने ६० प्रतिशत काम सकिएको जनाएको छ । विवाद नभएको क्षेत्रमा निर्माण सकिए पनि विवादित क्षेत्रको काम बाँकी रहेको कार्यालयका इन्जिनियर सुरेश बस्यालले जानकारी दिए ।

‘विवाद नभएको ठाउँहरूमा त काम सकिसकेको छ । केही ठाउँहरूमा जग्गा र संरक्षित वन क्षेत्रको विवादले काम रोकिएको छ,’ उनले भने, ‘जग्गा र वनको विवाद नभएका ठाउँमा करिब ६० प्रतिशत काम सकिएको छ ।’ निर्माण कम्पनी र कार्यालयले समय सीमाभित्रै काम सक्ने गरी लागे पनि विवादका कारण कठिनाइ भएको उनको भनाइ छ ।

सम्झौता विपरित साँघुरियो सडक

चार वर्षभित्र सक्ने गरी चक्रपथ निर्माणको सम्झौता भएकोमा पटक–पटक म्याद थप भइरहेको छ । पछिल्लो पटक म्याद थप भएअनुसार २०७८ चैत मसान्तभित्र निर्माण कार्य पूरा गर्नुपर्ने सम्झौता थियो । तर, अवरोध कायमै रहेकोले काम सकिने कुनै टुङ्गो छैन । संघीय सरकारले निर्माण थालेको चक्रपथको काम अहिले प्रदेश सरकार मातहत छ ।

१३ करोड बजेटमा निर्माण सम्झौता हुँदा चक्रपथ १५ मिटर चौडा हुने उल्लेख थियो । तर, जग्गा अभावकै कारण ११ मिटरमा मात्रै सडकको काम भइरहेको छ । पर्याप्त जग्गा उपलब्ध नहुँदा सडकको चौडाइ घटाउनु परेको रुकुम–पश्चिम चौरजहारी सडक डिभिजन कार्यालयका इन्जिनियर सुरेश बस्यालले जानकारी दिए ।

यता, वीरेन्द्रनगर नगरपालिकाले छिट्टै विवाद समाधान भएर काम अघि बढ्ने जनाएको छ । सरोकारवालाबीच विवाद समाधानका लागि छलफल भइरहेकोले केही समयमै समस्या समाधान हुने वीरेन्द्रनगर नगरपालिकाकी नगर प्रमुख मोहनमाया ढकालले बताइन् । उनले प्रभावित नागरिकलाई मर्का नपर्ने गरी सहमतिबाटै चक्रपथको काम अघि बढ्ने बताइन् ।

‘समस्या समाधानका लागि सम्बन्धित व्यक्ति र निकायहरूबीच विभिन्न चरणमा छलफल भइरहेको छ,’ नगर प्रमुख ढकालले भनिन्, ‘वीरेन्द्रनगर नगरपालिकाको मात्रै नभएर प्रदेशकै गौरवका रूपमा रहेको ‘वीरेन्द्रनगर चक्रपथ’ निर्माणको कामलाई प्रदेश र संघीय सरकारले पनि प्राथमिकतामा राखेको हुँदा अब छिटै काम अघि बढ्छ ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ०९:५५