सूचनाको शक्ति - The Power Of Information

        

कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण, नेपालमा ३३ मिनेट हेर्न सकिन्छ (भिडियोसहित)

यही कात्तिक ८ गते मंगलबार कात्तिक कृष्ण औँसीका दिन खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले अपराह्न ४ः५२ बजे स्पर्श गर्नेछ ।

ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५ः२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । करिब ३२ मिनेट मात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए । नेपालबाट नदेखिने भए पनि ग्रहणले बेलुकी साढे ७ बजे छाड्नेछ ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतम बताउँछन् ।

ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ । ग्रहणका बेला गर्न हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।

निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।

अर्थात्, ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुँगुर भएर जन्मने, सिँगारपटार गरे कुष्ठरोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्यग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा)अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ । यसै विश्वासानुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि भोजन गर्नुहुँदैन ।

ग्रहणका समयमा नित्यकर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । सो समयमा निषेध गरिएकाबाहेक कर्म गर्न हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

नेपालमा सूर्यग्रहण ३३ मिनेट, यसरी हेर्न सकिन्छ

यही कात्तिक ८ गते खण्डग्रास सूर्यग्रहण लाग्दैछ । त्यसदिन नेपालबाट करिब ३३ मिनेटसम्म सूर्यग्रहण देखिनेछ । उक्त दिन सूर्यग्रहण अपराह्न ४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए ।

‘४ बजेर ५२ मिनेटदेखि सूर्यास्तसम्म देखिन्छ । लगभग–लगभग ३३ मिनेट । ५ः२५ मा सूर्यास्त छ, त्यो दिन,’ उनले भने, ‘४ः५२ मा सूर्यग्रहणको पहिलो पार्ट देख्छौँ । ३३ मिनेटजति देखिन्छ ।’ सूर्यग्रहणलाई हेर्न सकिने तर नांगो आँखाले हेर्न नहुने उनले बताए । ‘हेर्न सकिन्छ । तर, नांगो आँखाले हेर्नुहुँदैन ।

सूर्यग्रहण चन्द्रग्रहणजस्तो हेर्नलाई सुरक्षित होइन । डेन्जर हुन्छ,’ उनले भने । नांगो आँखाले सूर्य ग्रहण हेर्दा आँखा ‘ड्यामेज’ हुन सक्ने उनले बताए । उनका अनुसार सूर्यग्रहण हेर्नका लागि विशेष किसिमको चस्मा बनाइएको हुन्छ । त्यो महँगो पर्छ । काठमाडौंसहित पहाडी भेगका अग्ला स्थानबाट सूर्यग्रहण देखिने उनको भनाइ छ ।

‘सनसेटको टाइममा हुने हुनाले अलिकति अग्ला स्थानहरूमा गयो भने देखिएला । घरमै बसेर सामान्य तरिकाले नदेखिन पनि सक्छ । सूर्यास्त हुने समयमा हुने भएकाले अग्लो स्थानबाट मात्र देखिन्छ,’ उनले भने, ‘तराईतिर सामान्य स्थानबाटै देखिन्छ । पहाडतिरचाहिँ अलिकति अग्लो ठाउँमा गएर हेर्यो भने देखिन्छ ।’

उनले थपे, ‘सबैभन्दा सजिलो उपाय भनेको पिन होल्ड क्यामेरा मेथड छ, छाया पारेर हेर्ने, त्योचाहिँ बेस्ट हो । सिधा हेर्नु भएन ।’ सूर्यग्रहण कोही व्यक्तिविशेषले हेर्न हुने–नहुने भन्ने कुनै वैज्ञानिक आधार नभएको उनले बताए । ‘कुनै राशिले हेर्न हुने–नहुने भन्ने वैज्ञानिक आधार छैन । तर, चन्द्रग्रहण नांगो आँखाले मजाले जो कोहीले हेरे पनि हुन्छ भने सूर्यग्रहण त्यसरी हेर्नु भएन ।’

खण्डग्रास सूर्यग्रहण लामो र खग्रास सूर्यग्रहण छोटो अवधिको हुने उनले जानकारी दिए । ‘खण्डग्रास सूर्यग्रहण लामो हुन्छ । खग्रास सूर्यग्रहण छोटो हुन्छ, बढीमा साढे सात मिनेट,’ उनले भने । एस्ट्रोनोमिकल सोसाइटीले सातै प्रदेशमा स्थानीयलाई सूर्यग्रहण हेर्नका लागि विशेष व्यवस्था गर्न लागेको उनले बताए ।

शास्त्रीय मान्यताअनुसार कात्तिक ८ गते बिहान ४ः५२ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ । ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको राससले जनाएको छ ।

सुरक्षित तरिकाले कसरी हेर्ने ?

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार ०७:४०