सूचनाको शक्ति - The Power Of Information

        

बाँके क्षेत्र नम्बर–३ (क) निर्वाचन

दुई जनाको दाबीले कार्यकर्ता अन्योलमा

खरेलभन्दा सुनार नै बलियो उम्मेदवार रहेको पनि नेकपा माओवादीका नेता तथा कार्यकर्ताबीच चर्चा भइरहेको छ ।

नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य दलबहादुर सुनार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेसँगै बाँके क्षेत्र नम्बर–३ को (क)मा उम्मेदवारीको विषयमा विवाद र अन्योल उत्पन्न भएको छ । गठबन्धनले उम्मेदवार नबनाएपछि सुनार स्वतन्त्र उम्मेदवार बनेका छन् ।

गठबन्धनले सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका पूर्वजिल्ला संयोजक आइपी खेरललाई उम्मेदवार बनाएको छ । तर, सुनारले एकीकृत समाजवादी परित्याग गरी सोही क्षेत्रबाट माओवादीको उम्मेदवार बन्ने गरी पार्टी प्रवेश गरेको खबर बाहिरिएपछि उम्मेदवारको विषयमा विवाद र अन्योल देखिएको हो ।

सो निर्वाचन क्षेत्रबाट २०७४ सालमा निर्वाचित भएका खरेलले आफूलाई माओवादीले टिकट दिएकाले आफू नै गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार भएको जानकारी दिए । उता सुनारले पनि उम्मेदवार बनाउने सहमतिपछि माओवादीमा प्रवेश गरेको बताएका छन् । एकै क्षेत्रबाट दुई जना उम्मेदवारले दाबी गरेपछि स्थानीय मतदाता र कार्यकर्ता अन्योलमा परेका छन् भने माओवादीमा थप विवाद सिर्जना भएको छ ।

लामो समयसम्म नेकपा एमालेको राजनीति गरेका सुनार संविधानसभा सदस्य एवं पूर्व राज्यमन्त्रीसमेत हुन् । एमालेबाट माधवकुमार नेपालको समूह अलग भएपछि एकीकृत समाजवादीमा लागेका नेता सुनारले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएर माओवादीमा प्रवेश गरेका हुन् । खरेलभन्दा सुनार नै बलियो उम्मेदवार रहेको पनि नेकपा माओवादीका नेता तथा कार्यकर्ताबीच चर्चा भइरहेको छ ।

सुनार र खरेलको उम्मेदवारीका बारेमा माओवादी बाँकेका इन्चार्ज एवं पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदीले यस विषयमा छलफल गरेर अगाडि बढ्ने जनाउँदै आधिकारिक उम्मेदवार एक जना मात्रै हुने बताएकी छन् । सुनारले पार्टी प्रवेश गरेपछि अर्का उम्मेदवार खरेलले आफू गठबन्धन र माओवादीको आधिकारिक उम्मेदवार भएकाले कुनै पनि हालतमा पछाडि नहट्ने बताएका छन् ।

आफूले उम्मेदवारी दर्ता गरी प्रचार प्रसारमा लागिसकेकाले अर्को उम्मेदवारलाई टिकटको आश्वासन दिएर प्रवेश गराउनु पार्टीभित्र भाँडभैलो मच्चाउने खेल भएको खरेलको आरोप छ । सो विषयमा सङ्क्षिप्त प्रतिक्रिया दिँदै माओवादी केन्द्र बाँकेका संयोजक डम्बर विकले यस विषयमा पार्टीभित्र छलफल चलिरहेको र एक–दुई दिनभित्रै समस्याको समाधान गरी एक जनामात्र उम्मेदवार रहने स्पष्ट पारे ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १९:०६