सूचनाको शक्ति - The Power Of Information

        

एक्सनमा कोहलपुर नगरपालिका

अनधिकृत होर्डिङ बोर्ड राख्ने सिभिल बैङ्कलाई १६ हजार जरिवाना

नगरपालिकाको स्वीकृतिविना बजार क्षेत्रलाई नै कुरूप बनाउने गरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउने कार्यलाई नगरपालिकाको सुरक्षा निकाय नगर प्रहरीले तीव्र पारेको हो ।

कोहलपुरमा अनधिकृत रुपमा राखिएका प्रचार सामग्री हटाउँदै नगर प्रहरी ।

कोहलपुर नगरपालिकाले नगरका विभिन्न क्षेत्रमा अनधिकृतरुपमा राखिएका होर्डिङ बोर्ड र ब्यानर लगायतका प्रचार सामग्री हटाउने अभियानलाई तीव्र पारेको छ । नगरपालिकाको स्वीकृतिविना बजार क्षेत्रलाई नै कुरूप बनाउने गरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउने कार्यलाई नगरपालिकाको सुरक्षा निकाय नगर प्रहरीले तीव्र पारेको हो ।

नगरपालिकाको तत्काल नगरभित्रका सबै अनधिकृत प्रचार सामग्रीलाई हटाउन निर्देशन दिएसँगै हटाउने कार्यलाई तीव्र पारिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । उनले सो अभियानको क्रममा हालसम्म करिब ५०० फ्ल्यास बोर्ड र होर्डिङ बोर्ड हटाइसकेको जनाउँदै अझै सो कार्य जारी रहेको बताए ।

विज्ञापन प्रयोजनका लागि अनधिकृतरुपमा राखिएका त्यस्ता प्रचार सामग्री हटाएर सम्बन्धित निकायलाई कारबाहीको दायरामा समेत ल्याउन थालिएको थापाको भनाइ छ । अनधिकृतरुपमा आफ्नो प्रचार सामग्री राखेको पाइएपछि सिभिल बैङ्कलाई कारबाहीको दायरामा ल्याइएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकासँग स्वीकृति नलिएरै सिभिल बैङ्कले विद्युतका पोलमा ३२ वटा होर्डिङ बोर्ड राखेको पाइएपछि बैङ्कलाई १६ हजार रुपैयाँ जरिवाना गरेर नगर प्रहरीको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड फिर्ता गरिएको नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले बताए ।

नगरपालिकाको स्वीकृतिविना प्रचार सामग्री राखिए विज्ञापन नियमन ऐन २०७६ अनुसार कारबाही गरिने पनि नगरपालिकाले चेतावनी दिएको छ । कोहलपुर बजारदेखि पार्वतीपुर, रोहिणी खोला र मदन चोक क्षेत्रभित्रका अधिकांश प्रचार सामग्री हटाइसकिएको पनि नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार १८:३७