सूचनाको शक्ति - The Power Of Information

        

मेला हेरर घर फर्किने यात्रुको ओभरलोडले जिप भिरमा खस्यो, ७ जनाको मृत्यु

बझाङको मष्टा गाँउपालिकामा भएको जिप दुर्घटना परी मृत्यु हुनेको संख्या ७ पुगेको छ । १६ जना घाइते भएका छन् ।

सदरमुकाम चैनपुरबाट मष्टा गाउँपालिका– २, खेतकोट जाँदै गरेको सुपप्र ०१–००१ च ११७ नम्बरको जिप बुधबार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

जिप दुर्घटना हुँदा घाइते भएका १६ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ । दुर्घटनामा घाइतेमध्ये धेरैजसो महिला र बालबालिका रहेका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा मष्टा गाँउपालिका वडा नं २ खेतकोटका १३ वर्षीया सम्झाना खड्का, १५ वर्षीय रोशन खड्का, २८ वर्षीया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय विरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका घर भएका ४२ वर्षीय झरेन्द्र बोहरा रहेका छन् ।

दुर्घटनामा घाइते १६ जनामध्ये ५ जनाको अवस्था गम्भीर भएपछि धनगडी रिफर गरिएको छ । घाइते हुनेमा मष्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, ५० वर्षीया सिन्किदेवि भण्डारी, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, ७५ वर्षीय बिरबहादुर खड्का, मष्टा गाँउपालिका १ साडा बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ४ वर्षीया सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।

जिल्ला सदरमुकाम चैनपुरमा लाग्ने सिलदेवी मेला हेरेर फर्किँदै गरेका यात्रु चढेको जिप दुर्घटनामा परेको हो । कच्ची सडकमा क्षमताभन्दा बढी यात्रु बोक्दा जिप दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ । जिप सडकबाट २ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ३ कार्तिक २०७९, बिहीबार ०७:१२