सूचनाको शक्ति - The Power Of Information

        

दाङका रोशनी र शरदको चिता एकै ठाउँमा जलाइयो

जंगलमा हत्या गरी एकै ठाउँमा गाडेको अवस्थामा शव फेला परेका दाङका रोशनी महतरा र शरद आचार्यका चिता एकै ठाउँमा जलेको छ ।

फरेन्सिक विज्ञ आएर मंगलबार उनीहरूको शव पोष्टमार्टम भएसँगै मंगलबार दुबै जनाको शितलपुर घाटमा अन्त्येष्टि गरिएको हो ।

रोशनी र शरदका आफन्त तथा परिवारजनले उनीहरूको चिता एकै ठाउँमा सँगसँगै जलाउने निर्णय गरेका थिए । तुलसीपुर–१३ दमारगाउँमा आइतबार दिउँसो स्थानीय सामुदायिक जंगलको एकै चिरोमा हत्या गरी फालेको अवस्थामा रोशनी र शरदका शव फेला परेका थिए ।

शरदको शवमाथि रोशनीको शव राखेर माटोले अलिअलि पुरेको अवस्थामा शव भेटिएका थिए । १५ वर्षीया रोशनी र १४ वर्षीय शरद स्थानीय अम्बापुर माविमा कक्षा ८ र ९ मा पढ्दै थिए ।

घटना अनुसन्धानमा सहयोग पुगोस् भनेर उनीहरूका केही सहपाठी तथा गाउँका साथीसमेत गरी ६ जनालाई सोधपुछको लागि इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

दमारगाउँमा एकै साथ दुई किशोरकिशोरीको शव फेला परेपछि गाउँ शोकमा डुबेको छ भने स्थानीय त्रसित छन् । प्रहरीले घटनामा संलग्न केही शंकास्पद व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार १७:४०