सूचनाको शक्ति - The Power Of Information

        

बिदा भयो मनसुन, बढ्न थाल्यो चिसो

मनसुन अर्थात् वर्षायाम बिदा भएसँगै देशभर चिसो महसुस हुन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार बिहान–बिहान चिसो हुन थालेको हो ।

‘अहिले न्यूनतम तापक्रम केही घटेको छ,’ मौसमविद् भट्टराईले मंगलबार बिहान भने, ‘दिउँसोको अर्थात् अधिकतम तापक्रम भने अहिले घटेको छैन ।’ उनका अनुसार साँझतिर पनि अहिले खासै चिसो बढेको छैन ।

बिहानको तापक्रम मात्र केही घटेको उनको भनाइ छ । यस वर्षको मनसुन केही दिन ढिला गरी गत आइतबार (अक्टोबर १६) मा नेपालबाट बाहिरिएको हो । नेपालबाट मनसुन हट्ने औसत मिति अक्टोबर २ तारिख हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मनसुन बिदा भएको र विन्टर सुरु भइनसकेको अवधिलाई पोस्ट मनसुन हुन्छ । मौसमविद् भट्टराईका अनुसार नोभेम्बर महिनाभर पोस्ट मनसुन रहन्छ ।

डिसेम्बरदेखि भने विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ । मौसम महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।

आज दिउँसो देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस रहेको मौसमविद् भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार ०७:४०