सूचनाको शक्ति - The Power Of Information

        

शताब्दी पुरुष जोशीको निधनको शोकमा आज सार्वजनिक बिदा

सरकारले आज मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते आज देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ । शताब्दी पुरुष जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको हो ।

विगत लामो समयदेखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका उनलाई कमजोरी देखिएका कारण २०७९ असोज ०७ गते ईमर्जेन्सीमा भर्ना गरिएको थियो । अस्पतलाका अनुसार उनको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थिए ।

अस्पतालले उनलाई निरन्तर अक्सिजन सपोर्टमा राखेको थियो । गत शुक्रबारदेखि औषधि चलाएता पनि शरिरले राम्रो काम नगरेको र उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको थियो । संस्कृतिविद जोशी तीन पटक मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । उनको पार्थिव शरीर हिजो नै किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ ।

उनकै इच्छा अनुसार अध्ययन तथा अनुसन्धान प्रयोजनको लागि उनको शरीर नजलाई अस्पताललाई प्रदान गरिएको हो । उनले नै आफु सय वर्ष भन्दा बढी कसरि बाँचे भनेर आफ्नो मृत्युपछि यस बारे अध्ययन होस् भनेर अस्पताललाई शव दिने निर्णय गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७९, मंगलवार ०६:३९