आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि बझाङमा ५६ वटा मतदानस्थल अति संवेदनशील तोकिएको छ ।
कुल १ सय ३५ मतदानस्थल मध्ये ५६ ओटा मतदानस्थल अति संवेदनशील, ५८ संवेदनशील तथा २१ वटा सामान्य गरी तीन चरणमा मतदानस्थलको वर्गिकरण गरिएको छ ।
जिल्लामा जम्मा १ सय ८४ मतदान केन्द्र तोकिएको छ । यस्तै जिल्लामा १ लाख २२ हजार ३ सय ७६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले बताए ।
जिल्लामा प्रतिनिधि सभातर्फ एउटा र प्रदेश सभातर्फ दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । गत स्थानीय तहको निर्वाचनमा १ सय ८४ मतदान केन्द्र र १ सय ३३ मतदान स्थल रहेका थिए ।
आगामी निर्वाचनका लागि जिल्लामा २ वटा मतदानस्थल थप भएका छन् भने ४ वटा मतदानस्थलको स्थानपरिवर्तन भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख गौतमले बताए ।
यसैगरी प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जिल्ला निर्वाचन सुरक्षा समितिको बैठक बसेर सुरक्षा योजना बनाएर यसको कार्यान्वयन भइसकेको बताउँदै जनशत्ति व्यवस्थापनका लागि तथ्याङ्क माग गरिएको बताए ।
निर्वाचन आचारसंहिताको पनि अनुगमन भइरहेको उनले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार जिल्लामा निर्वाचनको सुरक्षालाई मध्येनजर गर्दै ११ सय ८८ जना म्यादी प्रहरी छनोट गरिएको छ ।
मतदानस्थलगत रुपमा कति सुरक्षाकर्मी परिचालन गर्ने भन्ने विषयमा छलफल हुन बाँकी रहेको उनको भनाई छ ।
सत्यराज सिंह । बझाङ ।