सूचनाको शक्ति - The Power Of Information

        

विश्वकै लामो म्याराथन कात्तिक ६ गतेदेखि सोलुखुम्बुमा हुँदै

साेलुखुम्बुमा विश्वकै लामो दुरीको म्याराथन प्रतियोगिता हुने भएको छ । आउँदाे कात्तिक ६ गतेदेखि सोलुदूधकुण्ड नगरपालिका ८ धापबाट प्रतियोगिता सुरु हुने आयोजक संस्था स्मल वर्ल्डले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाका अनुसार धापबाट सुरु भएर सगरमाथा आधार शिविरसम्म पुगेर पुनः धापसम्म नै आएर टुङ्गिने म्याराथनको दुरी तीन सय १० किलोमिटरको हुने छ ।

धावक दा छिरि शेर्पाको अगुवाइमा हुने प्रतियोगिता लगातार १५ दिनसम्म चल्नेछ । दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र १२ जना नेपाली धावक सहभागी हुनेछन् ।

प्रतियोगिता धाप–पिके डाँडा–नाम्चे–गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर त्यही ठाउँ हुँदै धावकको टोली धाप नै फर्कने छ ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।

विदेशीहरूले यो लामो म्याराथनको भिडियो डकुमेन्ट्री बनाएर विश्वका महत्त्वपूर्ण च्यानलहरूमा प्रसारण गर्ने अध्यक्ष शेर्पाले बताउनुभयो ।  कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रिययस्तरको दौड आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १७:५६