सूचनाको शक्ति - The Power Of Information

        

एमाले महासचिव शंकर पोखरेलले चोरे कांग्रेस घोषणापत्रको आवरण

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको रन्कोले तात्तिएका उम्मेदवारका सामाजिक सञ्जाल प्रचार सामग्रीले भरिएका छन् । आफ्नो पक्षमा मत तान्न उनीहरुले सकेसम्म आकर्षक नारा दिने र नयाँ नयाँ नारा खोजेर प्रचार गरिरहेका छन् ।

२८ असोजमा एमाले महासचिव शंकर पोखरेलले आफ्नो फेसबुकमा एउटा प्रचार सामग्री पोस्ट गरे । जसमा लेखिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपाली परिवर्तन सम्भव छ हाम्रै पालामा ।’ चुनावी नारासँगै विकास र समृद्धि झल्काउने तस्वीरमा पोखरेलको तस्वीर पनि टाँसिएको छ ।

तर यो तस्वीर ०७४ को नेपाली कांग्रेसको चुनावी घोषणपत्रको आवरण पृष्ठबाट लिइएको हो । पोखरेलका स्वकीय सचिव सरोज रेग्मीका अनुसार चुनाव प्रचारप्रसारका लागि टिम बनेको छ र त्यही टिमले पोखरेलको प्रचार सामग्री बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने काम गर्छ ।

‘एउटा टिम छ हाम्रो, त्यसैले प्रचार समाग्री बनाइरहेको छ । हाम्रो प्रचार सामग्री कांग्रेसको घोषणापत्रको फोटोसंग मिलेको संयोग हुन सक्छ । टिमलाई थाहा नभएर कांग्रेसको जस्तै भएको हुनसक्छ’ उनले भने । दाङ–२ बाट उम्मेदवार बनेका पोखरेलसँग माओवादी केन्द्रकी रेखा शर्मा प्रतिस्पर्धामा छिन् ।

दाङ–३ बाट एमाले उम्मेदवार बनेकी कोमल वली पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रचार सामग्रीबाट प्रभावित बनेकी छिन् । ‘अति नै भयो महंगीको मार, चाहिने नै भयो एमालेको सरकार’ लेखिएको वलीको प्रचार सामग्री सन् २०१४ को चुनावमा मोदीले गरेको प्रचार सामग्रीबाट प्रभावित देखिन्छ ।

वलीले २८ असोजमा आफ्नो ट्वीटरमा मोदीको चुनावी नारा साभार गरेर प्रचार सामग्री पोष्ट गरेकी थिइन् । सन् २०१४ को चुनावमा नरेन्द्र मोदीले ‘बहुत हुई देश मे महँगाइ की मार अबकी बार मोदी सरकार’ भन्ने नारा दिएका थिए ।

उम्मेदवार वलीले भने आफूले मोदीको प्रचार सामग्री नगरेको बताइन् । मोदीको प्रचारबाट प्रभावित देखियो भनेर धेरैले गुनासो गरेको भन्दै उनले आफ्नो प्रचार टोलीले बनाएको बताइन् । ‘टिमले बनाइरहेको छ । भारतको राम्रो लागेर प्रभावित भएका होला, अब म यो चेन्ज गर्न लगाउँछु’ उनले भनिन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १६:५८