सूचनाको शक्ति - The Power Of Information

        

एक युगको अन्त्य !

वाङ्मय शताब्दी पुरुष एवं दिग्गज संस्कृतिविद् सत्यमोहन जोशी अब हामीमाझ रहेनन् । उनको उपचारकै क्रममा शुक्रबार बिहान ७ बजेर ९ मिनेट जाँदा ललितपुरको किस्ट मेडिकल कलेजमा १ सय ३ वर्षको उमेरमा निधन भयो ।

ज्वरोको कारण उनलाई सो अस्पतालमा ७ असोजमा भर्ना गरिएको थियो । उनमा डेंगु संक्रमण देखिएपछि निरन्तर त्यहीँ उपचार गरिएको थियो । चिकित्सकका अनुसार डेंगु ठीक भए पनि कमजोरीका कारण उनलाई अन्य समस्याले च्याप्दै लग्यो र शुक्रबार निधन भयो ।

हुन त उनी पछिल्लो समय मुटु र प्रोस्टेटको समस्याबाट पनि ग्रस्त थिए । तथापि, बिरामी भएर अस्पताल भर्ना हुनुभन्दा केही समयअघि पनि उनी हिँडेरै पाटनबाट काठमाडौंसम्म आउने गर्थे ।

दिवगंत संस्कृतिविद् जोशीको पार्थिव शरीरलाई आइतबार दिउँसो ललितपुर महानगरपालिकाको कार्यालय प्रांगणमा राखिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, निवर्तमान सभामुख अग्नि सापकोटा, नेता वामदेव गौतमलगायतले जोशीको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउँदै उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

सो क्रममा संक्षिप्त बोल्दै प्रधानमन्त्री देउवाले शताब्दी वाङ्मय पुरुष जोशीको निधनले नेपाली संस्कृति तथा कला साहित्य क्षेत्रमा ठूलो क्षति भएको बताए । साहित्यकार, कलाकार, संस्कृतिविद्, विभिन्न पेसाका व्यक्ति तथा आफन्त र शुभचिन्तकले पनि त्यहाँ पुगेर जोशीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । जोशी परिवारका अनुसार सत्यमोहन जोशीको पार्थिव शरीरलाई नजलाइने भएको छ ।

उनले केही वर्षअघि आफ्नो मृत शरीर ललितपुरको किस्ट मेडिकल कलेजलाई दान गर्ने सम्झौता गरेकाले उनको शरीर अब सो कलेजमा राखिने भएको छ । कलेजले उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर अध्ययनका लागि किस्ट मेडिकल कलेजमै राख्ने जनाएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०७:१५