सूचनाको शक्ति - The Power Of Information

        

राजनीतिमा शंकैशंका

‘कांग्रेसीले भोट हाल्दैनन्’ भन्ने डर र चिन्तामा माओवादी

प्रजातान्त्रिक अभ्यास भन्दै कांग्रेसले कतिपय बागीलाई पनि स्वीकार गर्दै आएकोबारे जानकार प्रचण्डलाई यसपाली पनि कांग्रेसबाट धोका हुनसक्ने चिन्ता छ ।

आइतबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको कार्यक्रममार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौता र हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइरालाको स्मरण गरे ।

प्रचण्डले विस्तृत शान्ति सम्झौता र गिरिजाबाबु सम्झनुको उद्देश्य कांग्रेसी नेता कार्यकर्तालाई माओवादीको निर्वाचन चिन्ह ‘हँसिया हथौंडा’मा मतदान गर्नका लागि ‘कन्भिन्स’ गराउनु थियो । २०६३ मंसिर ५ गते सशस्त्र द्वन्द्वमा रहेको तत्कालीन नेकपा माओवादी र सात राजनीतिक दलबीच विस्तृत शान्ति सम्झौता भएको थियो ।

माओवादीबाट प्रचण्ड र सात राजनीतिक दलको तर्फबाट तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेका थिए । २०६३ मंसिर ५ को सम्झौतापछि माओवादी १० वर्ष लामो सशस्त्र संघर्ष बिट मार्दै शान्तिपूर्ण राजनीतिमा आएको थियो । प्रचण्डले सोही ऐतिहासिक घटनाक्रमलाई स्मरण गर्दै लोकतान्त्रिक र वाम शक्तिबीच लामो समयदेखि सहकार्य हुँदै आएको सम्झाउँदै कांग्रेसी कार्यकर्तालाई आश्वस्त पार्ने प्रयास गरेका हुन् ।

प्रचण्डले भने, ‘लोकतान्त्रिक शक्ति र वामपन्थी शक्तिबीच आज मात्र होइन, ४६ सालदेखि नै सहकार्य हुँदै आएको छ । ०६४ साल, २०६२–०६३ हुँदै, संविधानसभाको निर्वाचन, गणतन्त्रको घोषणा र पछिल्लो प्रतिगमनसम्म हामी मिल्दै आएका छौं । आज शंका गर्नुपर्ने कारण छैन ।’ प्रचण्डलेको धारणाबाट प्रस्ट हुने कुरा– कांग्रेसी नेता कार्यकर्ता माओवादी वा गठबन्धनमा आवद्ध अन्य दलको चुनाव चिन्हमा मतदान गर्न सहज मान्दैनन् ।

त्यसैले बारम्बार इतिहास स्मरण गराउँदै आएका छन् । काठमाडौं क्षेत्र नम्बर २ को कार्यक्रम थियो । यहाँ माओवादीका ओनसरी घर्ती प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् । ओनसरीलाई मतदान गर्न कांग्रेसी नेता कार्यकर्ताले अप्ठ्यारो मान्न नहुने भन्दै प्रचण्डले शान्ति सम्झौतामार्फत माओवादी र कांग्रेसले एक अर्कालाई स्वीकार गरिसकेको स्मरण गरे ।

गिरिजाबाबुले हँसिया हथौंडामा छाप लगाए

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेकै बेला आफूले रूख र गिरिजाबाबुले हँसिया हथौंडामा छाप लगाइसकेको प्रचण्डको भनाइ थियो । प्रचण्डले भने, ‘जतिबेला हामीले शान्ति सम्झौता गर्यौ । सात राजनीतिक दलको तर्फबाट नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र विद्रोही नेकपा माओवादीको तर्फबाट मैले हस्ताक्षर गरेपछि मैले रूख चिन्हमा छाप लगाए बराबर हो र गिरिजाबाबुले हँसिया हथौंडामा छाप लगाए बराबर हो ।’

इतिहास सम्झेर मतदान गर्न आग्रह

प्रचण्डले विस्तृत शान्ति सम्झौतापछिका राजनीतिक उपलब्धीहरूलाई स्मरण गर्दै, त्यस क्रममा राजनीतिक दलबीच भएको सहकार्य स्मरण गर्दै इतिहासको सम्मान गर्न आग्रह गरे । प्रचण्डको आग्रह ‘नेपाली कांग्रेसका, माओवादी केन्द्रका र नेकपा एकीकृत समाजवादीका तमाम नेता कार्यकर्तालाई इतिहासलाई स्मरण गर्न आग्रह गर्दछु । इतिहासको सम्मान गर्न आग्रह गर्दछु । इतिहास स्मरण गरेर, सम्मान गरेर गठबन्धनका उम्मेदवारलाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्दछु ।’

इतिहासको सम्मान गर्ने र वितगका राजनीतिक दलको सहकार्यबाट प्राप्त उपलब्धीलाई स्वीकार गर्ने हो भने गठबन्धनमा आवद्ध राजनीतिक दलको चुनाव चिन्हमा मतदान गर्न सकैले हिचकिचाउनु नपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘यदि, विस्तृत सम्झौता गर्नु सही हो भने, १२ बुँदे समझदारी सही हो भने, संविधानसभाको निर्वाचन र संविधान घोषणा सही हो भने, संघीय लोकतान्त्रिक गणतन्त्र घोषणाा गर्नु सही हो भने, निर्धक्कसँग रुखवालाले हँसिया हथौंडा र हँसिया हथौंडावालाले रुखमा भोट हाल्न डराउनुपर्दैन । यो गिरिजाप्रसाद कोइराला, सात राजनीतिक दल र नेकपा माओवादीले निर्माण गरेको इतिहास हो ।’

शान्ति वर्ताको स्मरण

प्रचण्डले गिरीजाको योगलानलाई मात्र स्मरण गरेनन् । एउटै मञ्चमा रहेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगतमा खेलेको भूमिकाको पनि स्मरण गरे । माओवादी सशस्त्र द्वन्द्वमा रहेको बेला शान्ति वर्ताका लागि पहल गर्ने पहिलो व्यक्ति शेरबहादुर नै रहेको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले भने, ‘सबैभन्दा पहिला शान्ति वार्ताका लागि सकैसँग कुरा भएको भएको थियो भने नेपाली कांग्रेसका नेता शेरबहादुर देउवासँग नै कुरा भएको थियो । त्यसकारण यो इतिहासलाई सम्झेर, यो परिवर्तनको महत्वलाई सम्झेर गठबन्धनका उम्मेदवारलाई विजयी गराउँ ।’

प्रचण्डको डर के हो ?

आइतबार जसरी नै प्रचण्डले गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा चितव पुगेर शान्ति सम्झौता र गिरीजाबाबुको स्मरण गरेका थिए । कांग्रेसी नेता कार्यकर्तालाई विगतका सहकार्य सम्झाए । प्रचण्डले बारम्बार कांग्रेस र माओवादीको सहकार्य स्मरण गर्नु र गराउनुको कारण कांग्रेसी नेता कार्यकर्तासँगको डर हो ।

अधिकांश कांग्रेसी नेता कार्यकर्ता ‘रुख छोडेर अरु पार्टीको चिन्हमा भोट हालिन्न’ भन्छन् । प्रचण्डलाई यसैको चिन्ता हो, डर हो । गठबन्धनबीच सहमति भए पनि कांग्रेस नेता कार्यकर्ताले विगतमा दिएको बागी उम्मेदवारीबाट व्यहोर्नु परेको क्षतिबारे प्रचण्ड राम्रै जानकार छन् ।

कांग्रेसको राम्रो मत भएको क्षेत्रमा गठबन्धनका उम्मेदवार पराजित भएको पनि थाहा छ । त्यतिमात्र होइन, यसपटक पनि प्रचण्ड चितवन–३ बाटै निर्वाचन लड्ने तयारीमा थिए । तर, कांग्रेसी नेता कार्यकर्ताका कारण गोरखा सर्नुपरेको छ । त्यसैले पनि प्रचण्ड कांग्रेसी नेता कार्यकर्तासँग आश्वस्त छैनन् ।

कम्युनिष्ट पार्टीमा जस्तो प्रजातिन्त्रक पार्टीमा ‘चेन अफ कमाण्ड’ हुँदैन । प्रजातान्त्रिक अभ्यास भन्दै कांग्रेसले कतिपय बागीलाई पनि स्वीकार गर्दै आएकोबारे जानकार प्रचण्डलाई यसपाली पनि कांग्रेसबाट धोका हुनसक्ने चिन्ता छ । त्यसैले बारम्बार विगतमा भएको सहकार्य स्मरण गराएर प्रचण्ड कांग्रेसी नेता कार्यकर्तालाई निर्धक्क भएर हँसिया हथौंडामा मतदान गर्न प्रेरित गरिरहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०६:५६