सूचनाको शक्ति - The Power Of Information

        

किन गरियो सत्यमोहनको शवको सट्टा चिनाको दाहसंस्कार ?

संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ । शंखमुलस्थित बागमती घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो । उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन् ।

जिवित छँदै संस्कृतिविद् जोशीले शरीर दान गरेका थिए । उनको इच्छाअनुसार, आज परिवारजनले पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरेका थिए । किस्ट अस्पतालले जोशीको पार्थिव शरीरलाई केमिकलमा सुरक्षित राख्ने भएको छ । विद्यार्थीलाई अध्ययनका लागि सुरक्षित राखिन अस्पतालले जनाएको छ ।

संस्कृतिविद् जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो । उनी २४ दिनदेखि किस्ट अस्पतालमा उपचाररत थिए । आइतबार बिहान उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि किस्ट अस्पताल प्राङ्गणमा राखिएको थियो । त्यसपछि सर्वसाधारणका लागि ललितपुर महानगरपालिकाको प्राङ्गणमा राखिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए । देउवा लगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । जोशीलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न सर्वसाधारण पनि ललितपुर महागनर कार्यालय परिसर पुगेका थिए । त्यसपछि जोशीको पार्थिव शरीर किस्ट अस्पताललाई हस्तान्तरण गरिएको थियो ।

अस्पताललाई पार्थिव शरीर हस्तान्तरणपछि उनका परिवारजन जन्मकुण्ली बोकेर शंखमुलस्थित बागमती घाट पुगेका हुन् । साँझ ६ बजेर १४ मिनेटमा जोशीका दुवै छोराले उनको जन्मकुण्डलीको दाहसंस्कार गरेका हुन् । बुवाको इच्छाअनुसार पार्थिव शरीर अस्पताललाई दान गरेर जन्मकुण्डलीको दाहसंस्कार गरेको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार ०६:११