सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीमा विभेद : सईभन्दा वरिष्ठ सईको तलब कम !

नेपाल प्रहरीमा तल्लो तहमा थपिएका तीन नयाँ दर्जामा सेवा सुविधामा व्यापक विभेद भएको पाइएको छ । प्रहरीमा तल्लो दर्जामा १० वर्षभन्दा लामो समयसम्म पनि एकै दर्जामा बस्दा मनोबल र कार्यसम्पादनमा समेत असर परेको भन्दै सहायक हवल्दार, वरिष्ठ हवल्दार र वरिष्ठ सई गरी तीन पद सिर्जना गरिएको थियो ।

प्रहरी नियमावली ०७१ लाई नवौँ संशोधन गरी तीन पद सिर्जना गरिएको हो । नयाँ पद सिर्जना भएपछि सेवा सुविधासमेत बढ्ने प्रहरी कर्मचारीको अपेक्षा भने पूरा हुन सकेन । मन्त्रिपरिषद्ले प्रहरी नियमावली ०७१ लाई संशोधन गरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित भएको थियो ।

सोही आधारमा गत चैतबाट तल्लो तहमा एक तह बढुवा प्रक्रिया सुरु भएको थियो । संशोधनपछि तीन पदमा गरेर २० हजार चार सय १९ प्रहरीको बढुवा भएको थियो । प्रर्याप्त अध्ययन र योजनाबिनै तह बढुवा अगाडि बढाइएको प्रहरी कर्मचारीहरुको गुनासो छ । तत्कालीन आईजीपी शैलेश थापा क्षेत्रीको कार्यकालमा यो व्यवस्था लागु भएको हो ।

हतारमा लोकप्रियताका लागि यो योजना ल्याइए पनि विस्तृत अध्ययन, अनुसन्धान र दीर्घकालीन र भावि प्रभावबारे स्पष्ट मार्गचित्र ल्याउन नसक्दा यसले संगठनभित्रै थप समस्या आइरहेको प्रहरी अधिकारीहरुको बुझाई छ । त्यसपछि सईबाट वरिष्ठ सईमा १ हजार ४१८ जना, हवल्दारबाट वरिष्ठ हवल्दारमा ३ हजार ७४८ र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा १५ हजार २५३ जना बढुवा अवसर पाएका थिए ।

तर सेवा सुविधा भने वरिष्ठ भन्दा कनिष्ठकै बढी छ । हाल सईले ४२ हजार ६१३ रुपैयाँ प्राप्त गर्दछन् भने वरिष्ठ सईले ४० हजार ९०० रुपैयाँ मात्रै प्राप्त गर्दछन् । यो समस्या सहायक हवल्दार र वरिष्ठ हवल्दारको हकमा पनि छ । उनीहरुले आफुभन्दा जुनियरको भन्दा कम सेवा सुविधा प्राप्त गरेका छन् ।

यसले प्रहरी कर्मचारीमा झनै बढी निरासा थपेको छ । एक वरिष्ठ सईले भने, ‘जुनियरको तलब हाम्रो भन्दा बढी छ । यो कसरी बनाइयो । हचुवाको भरमा नीति ल्याइयो । प्रर्याप्त अध्ययन नै भएन । यसले मनोबल बढ्ने होइन झन् कमजोर भयो । अर्कोतिर तह बढुवा भएकाहरुको कार्यविभाजन पनि भएन ।’ ग्रेड मिलानमा ध्यान नपुर्याउँदा सेवा सुविधामा फरक परेको बताइएको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआइजी टेकप्रसाद राई आएका गुनासाहरुबारे लेखापढीको काम अगाडि बढिरहेको बताउँछन् । उनले भने, ‘यसमा हाम्रो ध्यानाकर्षण भएको छ । तह बढुवापछि निरासा होइन थप उत्साह आएको छ । प्रहरी कर्मचारीको काम कर्तव्य सबै स्पष्ट छ । त्यसैले कार्यविभाजन भएन भन्ने कुरा पनि होइन ।’ उनले माथिल्लो दर्जाको सेवा सुविधा तल्लो दर्जाभन्दा कम नभएको दाबी गरे ।

बाह्रखरीबाट

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार १७:३०