सूचनाको शक्ति - The Power Of Information

        

अख्तियार नेपालगन्जमा वर्षमा ४७५ उजुरी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा एक वर्षमा ४७५ उजुरी दर्ता भएका छन् । गत आव २०७८–०७९ मा सो कार्यालयमा त्यसअघिको आर्थिक वर्ष २०७७–०७८ बाट जिम्मेवारी सरेर आएका २७३ उजुरी फछ्र्योट हुन सकेका थिए ।

जिम्मेवारी सरेर आएका र नयाँ दर्ता भएका गरी गत आवको अन्त्यसम्म ७४८ उजुरी फछ्र्योटको जिम्मेवारी रहेको आयोगले ७०.५ प्रतिशत उजुरी फछ्र्योट गर्न सफल भएको कार्यालयका सूचना अधिकारी श्रीधर टण्डनले बताए ।

आयोगको वार्षिक प्रतिवेदनअनुसार गत आव २०७८–०७९ को अन्त्यसम्म जिम्मेवारी सरेर आएका १५६ र गत आवमा परेकामध्ये ३६८ गरी ५२४ उजुरी फछ्र्योट भएका छन् । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा आव २०७८–०७९ को अन्त्यसम्मका ७४८ मध्ये विस्तृत अनुसन्धानका लागि ३५ उजुरी गएका छन् ।

आयोगमा १७७ सिधै तामेली तथा सुझावसहितको तामेली भएको उजुरीको सङ्ख्या ३६ रहेको सूचना अधिकारी टण्डनको भनाइ छ । टण्डनका अनुसार २७६ उजुरीमा अन्य कारवाही भएका छन् । सम्पर्क कार्यालयमा विभिन्न माध्यममार्फत परेका उजुरीमध्ये २२४ वटा चालू आर्थिक वर्ष २०७९–०८० का लागि सरेर आएका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धानले आयोगले अघिल्लो आर्थिक वर्षमा देशभर परेका उजुरीमध्ये ७० दलमलव ६ प्रतिशत उजुरी फछ्र्योट भएको जनाएको छ । आयोगको सम्पर्क कार्यालय नेपालगन्जमा चालू आर्थिक वर्ष २०७९–०८० को साउनदेखि हालसम्म ११६ उजुरी दर्ता भइसकेका छन् । विभिन्न माध्यमबाट ११६ उजुरी दर्ता भएका हुन् ।

चार जिल्ला कार्यक्षेत्र रहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल अन्तरगतको सम्पर्क कार्यालय नेपालगन्जमा चालू आवको साउनमा ५६, भदौमा ३९ र असोजमा २१ उजुरी दर्ता भएका छन् । आयोगमा हुलाकमार्फत ४२, समाचारपत्रमार्फत चार, लिखित निवेदन ३१, टेलिफोनबाट नौ, इमेलमार्फत ३० उजुरी दर्ता भएका थिए ।

अहिले कार्यालयको फेसबुक पेज, हटलाइन नम्बर १०७, इमेल लगायत माध्यमबाट उजुरी दिने व्यवस्था रहेको कार्यालयका सूचना अधिकारी टण्डनले बताए । उनका अनुसार अख्तियारमा सबैभन्दा बढी स्थानीय तहअन्तर्गत योजना विकास निर्माण, कर्मचारी नियुक्तिको प्रक्रिया, सरकारी जग्गा अतिक्रमण, सामुदायिक वनका विवाद, जस्ता उजुरी आउने गर्दछ ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार १७:०६