सूचनाको शक्ति - The Power Of Information

        

विपदमा दोब्बर भाडा असुली

जुम्लादेखि नेपालगन्जको हवाई भाडा १४ हजार, नागरिकलाई सास्ती

जुम्लामा यतिवेला मात्रै नभई लामो समयदेखि हवाई सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् ।

अविरल वर्षाका कारण जुम्लामा बाढी पहिरोले ठुलो क्षती भएको छ । ठाउँठाउँमा गएको पहिरोले गर्दा कर्णाली राजमार्ग अवरुद्ध छ । राजमार्ग खुलाउन लागि सबै निकाय लागेका छन् । यद्यपि, राजमार्ग पूर्णरुपमा सञ्चालन हुन लामो समय लाग्ने प्रष्ट छ ।

यही मौका छोपेर निजी वायु सेवा कम्पनीहरूले भने मनलाग्दी भाडा असुली रहेका छन् । अहिले जुम्लाको एकमात्रै यातायात सेवा भनेको हवाई उडान मात्रै हो । यही मौकामा उनीहरूले नियमित उडान नभरेर चार्टर उडान सुरु गरेका छन् ।

एकतर्फी मात्रै यात्रु हुने र सञ्चालन खर्च धान्न नसक्ने भन्दै वायुसेवा कम्पनीहरूले अत्यधिक भाडा लिएर टिकट बिक्री गरिरहेका छन् । लोकसेवा आयोगको परीक्षा दिने विद्यार्थीहरूले जुम्लाबाट नेपालगन्जको प्रतिव्यक्ति १४ हजार रुपैयाँसम्म भाडा तिर्दा पनि टिकट नपाएको गुनासो गरेका छन् ।

परीक्षा दिने विद्यार्थी, गम्भीर बिरामी र विभिन्न प्रतियोगितामा भाग लिने खेलाडीलाई प्राथमिकता दिएर उडाउन भर्न जुम्ला प्रशासनले लिष्ट बनाएको थियो । त्यही प्राथमिकताका आधारमा प्रशासनले प्रवेश पत्र मागेर लोक सेवा आयोगको परीक्षा दिन मिति हेरेर विद्यार्थी हवाइजहाजमा पठाएको थियो ।

जसमा ३८ जना विद्यार्थी, १३ जना खेलाडी, दुई जना बिरामी पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले हिमा गाउँपालिका राहत पुर्याउन आएको सेनाको हेलिकोप्टरलाई अनुरोध गरी ६ जना एसडिबिमा परीक्षा दिने विद्यार्थी पठाएको बताए ।

केही भिसा लागेका, बिरामी र विद्यार्थी पठाएको हो । उनले भने, ‘प्रशासनले जहाजको टिकट बाँड्ने होइन । गुनासो गर्न आएका नागरिकको समस्या समाधानको लागि एयरलाइन्ससँग अनुरोध गरेको हो ।’ जुम्लामा यतिवेला मात्रै नभई लामो समयदेखि हवाई सेवा प्रदायकको टिकट बुकिङ एजेन्टमार्फत हुँदा नागरिकले सास्ती पाएका छन् ।

एजेन्टमार्फत टिकट वितरण हुने प्रणालीका कारण तालिका (सेड्यूल)अनुसार उडान हुने फाइदा नागरिकले लिन नपाएको नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनका अनुसार जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने भए पनि अन्य निजी विमान कम्पनीहरूले एजेन्टमार्फत टिकट बिक्री वितरण गर्दा यसको फाइदा नागरिकले लिन नपाएकाले हुन् ।

नियमित उडानभन्दा चार्टर उडानको धन्दा बढी

नागरिक उड्डयन प्राधिकरण जुम्लाका अनुसार अक्टोबर महिनाको १५ दिनमा समिट एयरले सात वटा उडान भरेको छ । जसमा चार वटा नियमित र तीन वटा चार्टर उडान गरेको छ । तारा एयरले चार वटा उडान भरेकोमा एक चार्टर उडान गरेको छ । नेपाल एयरलाइन्सले एक वटा उडान मात्रै गरेको छ । जुम्लाबाट सेड्युल उडानमा यात्रा गर्ने यात्रुको भाडादर ६ हजार ९०० छ । तर, चार्टर उडानका लागि १४ हजार तिर्ने गरेका छन् । यस्तै नेपाल एयरलाइन्सले ६ हजार ५७५ रुपैयाँ लिँदै आएको छ ।

यस्तो छ सेड्युल उडान

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति महाशाखाले स्वीकृत गरेको तालिकाअनुसार जुम्लामा तारा एयरले मंगलबार र समिट एयरको शुक्रवार उडान भर्नुपर्ने तालिका (सेड्यूल) छ । यस्तै, नेपाल एयरलाइन्सले आइतबार उडान भर्नुपर्छ । तर, पछिल्लो समयमा नेपाल एयरलाइन्सले आइतबार उडान भर्ने सेड्यूल कागजमै सीमित छ । जुम्लाबाट उडान भर्ने नेपाल वायुसेवा निगमको उडान कम्पनीमार्फत हुने नेपाल एयरलाइन्सले महिना तीन वटा मात्रै उडान भर्ने गरेकाले जुम्ली जनता निजी एयरलाइन्सको महँगो हवाई भाडा तिर्न बाध्य छन् ।

 

 

– न्युज कारखाना

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार १६:१३