सूचनाको शक्ति - The Power Of Information

        

सत्यमोहन जोशीको शरीर नजलाउने, अध्ययनका लागि राखिने

शताब्दी पुरूष सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ।

यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो।

आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो।

शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ।

शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए।

‘आज हामी अन्तिम श्रद्धाञ्जलीका लागि महानगर परिसरमा शरीर राख्नेछौ। त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उहाँको शरीर अध्ययनका लागि राख्नेछौ’, डाक्टर बस्नेतले भने,‘यसरी राखिएको शरीर अनन्तकालसम्म जस्ताको तस्तै रहनेछ।’

उनले सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए। ‘हामी सुरूमा नसाबाट केमिकल राखेर शरीरलाई डेकोरेट गरि श्रद्धाञ्जलीका लागि अस्पताल परिसरमै राख्नेछौ, त्यसपछि केमिकलमै डुबाएर शरीरलाई अनन्तकालसम्म राख्नेछौ’, उनले भने।

अस्पतालले जोशीको शरीर कसरी राख्ने भन्नेबारे विस्तृतमा अध्ययन गरिसकेकाले उहाँकै इच्छा अनुसार शरीर अध्ययनका लागि राखिने बस्नेतले बताए।

छलफलमा परिवारका सदस्यहरूले बुबाको अन्त्येष्टि समाज र गुठियार अनुसार गर्ने सोच भएको बताएका थिए।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार १०:०३