सूचनाको शक्ति - The Power Of Information

        

विश्वव्यापी भोकमरी सूचकाङ्कमा भारतको अवस्था ‘गम्भीर’

विश्व भोकमरी सूचकाङ्क (जीएचआई) सन् २०२२ को सूचीमा भारत १ सय ७औँ स्थानमा झरेको छ ।

भारत विश्वका १ सय २० देश र क्षेत्रमध्ये १ सय ७औँ स्थानमा झरेको हो । कन्सर्न वर्ल्डवाइड आइरिस सहायता एजेन्सी र वेल्टहङ्गरहिल्फ नामको जर्मन संस्थाले संयुक्त रूपमा भोकमरी सूचकाङ्क प्रतिवेदन हालै सार्वजनिक गरेका हुन् ।

गएको वर्ष १ सय १औँ स्थानमा रहेको भारत तल झरेर एसियाली देशहरु नेपाल, श्रीलङ्का, म्यानमार, बङ्लादेश र पाकिस्तानभन्दा पनि पछि परेको हो । जीएचआई अनुसार नेपाल ८१, श्रीलङ्का ६४, म्यानमार ७१, बङ्लादेश ८४ र पाकिस्तान ९९औँ स्थानमा रहेका छन् ।

भोकमरी र कुपोषणको अनुगमन गर्ने जीएचआईका अनुसार भारतमा भोकमरीको स्तर ‘गम्भीर’ छ । नयाँ तथ्याङ्कमा यस वर्ष १४ देश वा क्षेत्र भारतभन्दा खराब सूचीमा परेका छन् । अल्पपोषण, बाल पुड्कोपन र पाँच वर्षभन्दा कम उमेरका बच्चाहरूको मृत्युदर गरी जीएचआई स्कोर चार सूचकहरूमा गणना गरिन्छ ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको तौल कम हुनुलाई अल्पपोषणको कारण मानिन्छ । प्रतिवेदनअनुसार १७ वटा देशले जीएचआई स्कोर ५ भन्दा कम प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०९:२४