सूचनाको शक्ति - The Power Of Information

        

अभिमत

राजावादीहरुको संसद् छिर्ने दिन सकिएकै हो ?

२०२८ सालमा खाना खान लागेको व्यक्तिलाई च्वाटै काटेर १४ वर्ष जेल बसे । अनि बाहिर निस्केर राजनीतिका कारण जेल बसेको भनेर जनतालाई बेवकुफ बनाइरहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हिन्दु राज्य स्थापना गर्ने, संघीयता खारेज गरेर राजतन्त्र व्यूँताउने नारा लिएर जनतामाझ पुगेको छ । देशमा राजाको खाँचो छ भन्दै राप्रपाले जनतासंग भोट मागिरहेको छ । २०७० सालको चुनावमा कमल थापाले हिन्दु राज्य ल्याउने र राजतन्त्र फर्काउने भनेर राजासंग १० करोड लिएर झ्याम्म बनाए । २४ सीट ल्याएर पनि केही उखालेनन् । बरु, तीनचोटि सरकारमा गएर उपप्रधानमन्त्री खाए । थापाकै बाटोमा अहिले राजेन्द्र लिङदेन पनि हिँडेका छन् । राजासंग करोडौं रकम लिएर चुनावी खर्च जुटाउने दाउ उनको छ । राजा ल्याउने भनेर हिँडेकाको दुई दिने नाटक पनि चुनावपछि देखिन्छ । २०७४ सालको चुनावमा जनताले राप्रपालाई भोट नै दिएनन् । लिङ्देनले एक सीट जिते । २०७० सालको तुलना गर्ने हो भने २३ सीट गुमाउनुपर्यो ।

आँउदो प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा राप्रपाले त्यही एक सीट पनि नजित्ने अनुमान लगाउन थालिएको छ । कमल थापा र राजेन्द्र लिङदेनको पार्टीको हाल बेहाल हुने छ । लिङदेनले चुनाव जितेर आएपनि केही गरेनन् । पाँच वर्षको कार्यकालमा उनी २० चोटि पनि संसद्मा उभिएका छैनन् । उनको हाजिरी न्यून मात्र देखिन्छ । बस्, सरकारी सेवासुविधा लिने र तलबभत्ता खाने काम मात्र गरे । राप्रपामा कलाकार, पत्रकार, अभियन्तालगायतका व्यक्तिहरु हिँडेका छन् । कलाकारिता क्षेत्र बाट आएकी रेखा थापा, पत्रकार रविन्द्र मिश्र र अभियन्ता भनिने ज्ञानेन्द्र शाहीलाई कसले पत्याउने ? कलाकारसंग के क्षमता हुन्छ ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग नाँचेर चर्चामा आएकी रेखा थापा पनि मौका छोप्ने मात्र हो । माओवादीबाट टिकट नपाएपछि राप्रपामा । कहिले यता कहिले उता ।

राप्रपाका प्रवक्तासमेत रहेका ज्ञानेन्द्र शाही हिजो भाडा बेचेर गुजारा चलाउँथे । ठूल्ठूला कुरा गर्न जानेको तर अलिकति पनि काम गर्ने क्षमता नभएकालाई राप्रपाले टिकट दिएको छ । पत्रकार रविन्द्र मिश्र पनि मौकाको फाइदा उठाउने मात्र हुन् । विवेकशील साझा पार्टी चलाउन नसकेपछि सयौं ठक्कर खाएर राप्रपामा आएकाबाट के अपेक्षा गर्ने ? यिनीहरुलाई राजतन्त्र होइन्, कुर्सी चाहिएको छ । अध्यक्षको पद नपाएपछि पार्टीबाट चोइटिएर हिँडेका कमल थापा आफैंले पनि नेकपा एमाले बाट चुनावमा जाँदैछन् । अध्यक्ष नपाएपछि राजतन्त्र नै त्यागेर लोकतन्त्र स्वीकारेका थापालाई कसले पत्याउने ? २०६२–६३ सालमा जनताहरुले राजतन्त्र फ्याँक्नुपर्छ, गणतन्त्र ल्याउनुपर्छ भनेर १९ दिने आन्दोलन गरेका थिए । त्यतिखेर गृहमन्त्री थापा नै थिए । उनले प्रहरीलाई बन्दुक चलाउने निर्देशन दिएपछि कुखुरा मारेजसरी जनता मार्ने काम भयो ।

बानेश्वर, त्रिपुरेश्वर, कंलकी लगायतका स्थानमा सबैभन्दा धेरैको मृत्यु भयो । उनको निर्देशनले गर्दा प्रहरीले मकै भुट्ेको जसरी गोली चलायो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापालाई मकवानपुरबाट टिकट दिएका छन् । तर, बिसौं वर्ष पार्टीमा लागेर योगदान पुर्याएको एमालेको नेताले टिकट पाएनन् । थापालाई टिकट दिनु हुदैंन भनेर मकवानपुरस्थित एमालेको पार्टी कार्यालयमा ताल्चा लगाइयो । केपी ओलीले विचार र सिद्धान्त छोडिसकेको एमाले नेता तथा कार्यकर्ताहरुको आरोप छ । ओलीले राजतन्त्र फर्काउनका लागि भित्रभित्रै योजना बुनेको बताइन्छ । केही गरी एमाले सत्तामा फर्कियो भने राजतन्त्र फर्किन्छ र संघीयता खारेज हुन्छ भन्ने कुरा स्पष्ट रुपमा बुझ्नुपर्छ । ओली हिजो पनि राजतन्त्र चाहिन्छ भन्थे आज पनि उनको मनमा त्यही छ । उनले बाहिरी रुपमा खुलस्त पार्न नसकेको प्रष्ट हुन्छ ।

ओली ‘राजावादी’ हुन् भन्दा पनि अब केही फरक नपर्ला । अब आउने चुनावमा एमालेले बढीमा सात सीट जित्छ । ओलीले आउने चुनावमा झापा ५ बाट चुनाव हार्छन् । त्यत्रो आन्दोलन गरेर ल्याएको व्यवस्था बदल्न खोज्नेहरु भित्तामा पुग्नेछन् । राजनीति परिवर्तन गर्न कतिले ज्यान फालेका छन् ? कति पीडा खेपेका छन् ? ओलीलाई थाहा छ । ओलीलाई जसरी पनि पराजय गर्नुपर्छ । एक गुट भएका राजावादीहरुलाई जनताले ठिक ठाँउमा ल्याउने निश्चित छ । राजावादीहरुको गुटले जति कोसिश गरे पनि जनताले राजतन्त्र फर्काउन दिने छैनन् । घरघरबाट जनताहरु सडकमा उत्रिन्छन् । आज ओली राजनीतिका ठूल्ठूला भाषण गर्छन् । तर, उनको राजनीति परिवर्तनका लागि के गरेका छन् । २०२८ सालमा खाना खान लागेको व्यक्तिलाई च्वाटै काटेर १४ वर्ष जेल बसे ।

अनि बाहिर निस्केर राजनीतिका कारण जेल बसेको भनेर जनतालाई बेवकुफ बनाइरहेका छन् । राजनीतिका लागि उनी एक दिन पनि जेल बसेका छैनन् । अपराध गरेपछि सजाय काट्नु स्वाभाविकै हो । ओलीकै कारण मुलुकमा अप्ठयारो पर्ने देखिन्छ । अहिले चलिरहेको व्यवस्था नै संकटमा पर्ने देखिन्छ । चुनाव हारुन् कि जितुन् उनले राजतन्त्र फर्काउने हरेक कोसिश गर्ने छन् । लिङ्देन र थापाले जे भन्यो ओलीले त्यही मान्छन् । राजावादी सोच भएकाहरुले अहिलेको व्यवस्था मनपराउदैनन् । पहिल्यैदेखि गणतन्त्र र लोकतन्त्रका विरोधीहरुले अब आफ्नो भाषा ओलीको मुखबाट भन्छन् । ओली पनि तिनकै इशारामा नाँच्ने देखिन्छ । यहाँ दोहोरो भिडन्त हुनेछ । जनता र अन्य राजनीतिक दलहरु हिन्दुराज्य चाँहिदैन, संघीयता खारेज गर्नुहुदैन भनेर सडकमा आँउछन् । यता, राजवादीको गुट पनि आन्दोलनमा उत्रिन्छन् । पछिल्लो समय नेपालमा विदेशी हस्तक्षेप बढिरहेको छ । किनकि राजनीतिक दलहरु निकै कमजोर देखिएका छन् ।

राजा ज्ञानेन्द्र शाहले बेलाबखत नेपालमाथि मडारिएको खतराको व्याख्या विश्लेषण गर्ने गरेका छन् । एमसिसी पारित र नागरिकता विद्येयकका कारण नेपाल विदेशी हस्तक्षेपमा परेको उनको वक्तव्यले प्रष्ट हुन्छ । यता, नेपालीलाई भेडाबाख्राझैं विदेश पठाउने क्रमले मुलुक संकटमा परेको छ । राजाले समेत देशमा आफ्नो आवश्यकता परेको बताउँदै आएका छन् । तर, हिजो राजाले जनता दबाउन नखोजेको भए आज आफै दबिनु पर्दैनथ्यो । तर, जति नै भएपनि जनताले राजतन्त्र फर्काउने छैनन् । जनतालाई राजतन्त्र चाँहिएको छैन । राजाको सपोर्टमा सय जना माइतीघर मण्डलामा ओर्लिदैंमा राजतन्त्र फर्किन्छ ? हिन्दु राज्य आँउछ ? सय जनाले केही उखाल्ने छैनन् । राजाले पालिरहेका ओली, थापा र लिङदेन पक्षका केही व्यक्ति सडकमा आँउलान् । तर सर्वसाधारणचाहि मरेपनि आउने छैनन् । यिनीहरुको भविष्य संकटमा परेको छ ।

आगामी निर्वाचनपछि राप्रपाबाट उठेका उम्मेदवारहरुको कन्तबिजोग हुन्छ । केपी ओली र कमल थापामाथि पनि कालो बादल मडारिएको छ । २०७४ सालमा काठमाडौं क्षेत्र नम्बर १ बाट उठेका रविन्द्र मिश्रले नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई चुनौती दिएका थिए । थोरै मतले मात्र उनी पराजय भएका थिए । यसअघिको चुनावमा ११ हजार बढी मत ल्याएको मिश्रले अब त्यसको एक तिहाइ पनि ल्याउदैनन् । उनी राप्रपामा जानु भनेको आफ्नो खुट्टामा आफैले बञ्चरो आउनु हो । किन कि राप्रपाको इतिहास सबैलाई थाहा छ । राप्रपामा कस्ता नेता थिए र तिनले के काम गरे ? यो हरेक जनताले राम्रोसंग स्मरण गरेका छन् । बरु, जनताको काम गरेको भए मिश्रको जित्ने सम्भावना धेरै हुन्थ्यो । मंसिर ४ गतेपछि राप्रपालाई दिँउसै बत्ती बालेर खोज्नुपर्ने अवस्था आँउछ । निवर्तमान कानूनमन्त्री गोविन्द शर्माले सांसद्को अवधि लम्बाउने भनेर प्रस्ताव गरेका थिए ।

चुनावको अघिल्लो दिनसम्म सांसद्को कार्यकाल रहने भनिएको थियो । तर, लिङदेनले म्याद थप्न नहुने भन्दै राजीनामा घोषणा गरेका थिए । उनले आफ्नो पार्टीलाई थप बलियो बनाएर संसद् प्रवेश गराउने भाषण ठोकेर राजीनामा दिए । अब उनी आफैं त संसद् छिर्न पाउने हो कि होइन् भर छैन् । आफ्नो पार्टीलाई दरो बनाएर छिराउछु भन्नु दिउँसै सपना देख्नु मात्र हो । आफू उभिन नसक्ने भन्दै ओलीले कुर्सीमा बसेर घण्टौं भाषण गरेका थिए । अब उनले यति धेरै दुःख गर्नुपर्दैन् । संसद् नै छिर्न नपाएपछि उठेर होस् कि बसेर भाषण गर्नुपर्दैन् । जनताले आफूलाई भोट नदिने राप्रपाका उम्मेदवारहरुले थाहा पाइसकेका छन् । बस्, आफ्नो कर्तव्य पूरा गर्न जनताको ढोकामा पुगेका हुन् । ओलीले संसद् विघटन गरेको आक्रोश जनतामा अझै पनि छ । सरकार चलाउने क्षमता नभएकालाई जिताएर किन आफ्नो भोट खेर फाल्ने ? त्यसमाथि पनि उभिएर भाषण दिन नसक्ने बुढेसकालका नेतालाई जिताएर देशको के विकास हुन्छ ?

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतवार ०९:०४